पर्वतको पकुवामा सहकारी सचेतना कार्यक्रम

Share:

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ पकुवास्थित साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्यहरुका लागि आयोजित एक दिने सहकारी सचेतना तालिम बिहीवार सम्पन्न भएको छ । संस्थाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय पोखराको सहयोगमा सम्पन्न भएको हो ।

संस्थाका शेयर सदस्यहरुलाई सहकारीमा पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष डम्बर बहादुर वि.क.ले जानकारी दिए ।

सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई यसबाट हुने फाइदा, सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी आवश्यक छ भन्ने महसुस गरेर तालिम आयोजना गरेका हौ, अध्यक्ष विकले भने–‘तालिममा सहभागी शेयर सदस्यहरु उत्साहित भएर जानु भएको छ, सदस्यहरुको सक्रियता बढ्ने र संस्थाले थप गति लिनेमा विश्वस्त छौ ।’

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई दीगो बनाउन, सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए ।

सहकारी भनेको वचत र ऋण परिचालन गर्ने मात्र हो भन्ने सोचाइमा परिवर्तन ल्याउनका लागि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत बनाउने र उनीहरुको उत्पादन स्थानीय तहसँगको समन्वयमा संकलन र बजारीकरणका लागि संस्थाले काम गर्नु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा प्रशिक्षक तथा कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेलले पालिकाले बनाएको सहकारी ऐन बमोजिम काम गर्न आग्रह गरे । उनले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्नेमा जोड दिए ।

कुश्मा नगरपालिकाका सबै सहकारी संस्थाहरुको तथ्यांक संकलन, अनुगमन र प्रवद्र्धनका लागि शिक्षा तालिमका कार्यक्रमहरुमा सहभागिताका लागि उनले आग्रह गरे ।

संस्थाका ७० जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रम अध्यक्ष डम्बर बहादुर वि.कको अध्यक्षता र सचिव गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

संस्थामा ५ सय जना शेयर सदस्य, १७ लाख शेयर रकम, ५६ लाख वचत र १ करोड १५ लाख कर्जा लगानी रहेको प्रवन्धक प्रेम नारायण पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: