
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेला गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले गुटगत भेला र गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
यस्तै, बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । संशोधित विधान पारित गर्दै विधानलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो ।
अस्ति पाँच गते बसेको खनाल–नेपाल समूहका नेताहरु अनुपस्थित भए पनि बैठकले संसदीय बोर्ड गठन गरेको थियो ।
आज बसेको संसदीय दल र संसदीय बोर्ड दुवै बैठकमा खनाल–नेपाल समूहका नेताहरु भने सहभागी भएनन् । तर बैठकमा वामदेव गौतम भने सहभागी भएका थिए ।
संसदीय बोर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसमेत राखिएको छ । यसैबीच, खनाल–नेपाल समूहले प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित पत्र बुझाएको छ ।
बैठक र निर्णयहरु विधान र विधिसम्मत हुनुपर्ने भन्दै खनाल–नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएको हो ।
