
पोखरा । बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ ।
उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो ।
विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न उक्त सडकमा सवारी सञ्चालन बन्द गरेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो ।
सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्ने भएका छन् । सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।
प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।
निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।
करिब रु ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं. २०७४ बाट निमार्ण शुरु गरिएको हो ।
