कञ्चनजंघा बोर्डिङको १३ औं वार्षिकोत्सव, ‘ठूला भवन र चर्चित विद्यालयमा मात्र गुणस्तरीय शिक्षा हुन्न’

Share:

रञ्जन अधिकारी पोखरा, ६ फागुन / पोखरा ११ फूलबारी स्थित कञ्चनजंघा ईङ्लिस बोर्डिङ स्कूलको १३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका विद्यालय निरीक्षक खेमराज पौडेलले विद्यालयले छोटो समयमा प्राप्त गरेको उपलब्धि प्रशंसनीय रहेको बताए ।

‘ठूला भवन र चर्चामा रहेका ठूला विद्यालयहरुमा मात्र गुणस्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने गलत सोच आम अभिभावकमा रहेको पाईन्छ ’ – उनले भने– ‘ शिक्षण सिकाई क्रियाकलाप कुन विद्यालयमा राम्रो हुन्छ, त्यहाँ स्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने बुझौं ।’ उनले नीजि विद्यालयहरुमा मात्र पढाई राम्रो नहुने भन्दै अभिभावकको प्रत्यक्ष सहभागिता रहने र शिक्षकहरु पनि लगनशील भएको खण्डमा सरकारी विद्यालयको नतिजा पनि उत्कृष्ट रहेको बताए । अतिरिक्त क्रियाकलापमा धेरै विद्यार्थी संलग्न भएको देख्न पाउँदा कञ्चनजंघा स्कूल पनि शैक्षिक क्रियाकलपासँगै खेलकूद लगायत अतिरिक्त क्रियाकलापमा सक्रिय रहेको पाईएको भन्दै उनले खुशी व्यक्त गरे ।

उनले मावि तथा उच्च मावि तहका विद्यार्थीहरुमा अनुशासन कम भएकोमा दुःख जनाउँदै अभिभावकले यसतर्फ नसोचे आफ्नै भविष्य अन्धकारमा धकेलिने बताए । ‘विद्यालयमा त ६ घण्टा न हो । १८ घण्टा आफ्ना साथमा हुने छोराछोरीलाई ठूला विद्यालय हजारौं महिनावारी शुल्क तिरेर पढाएको छु भन्दै मख्ख नपरौं’ – उनले थपे – ‘९ देखि १२ कक्षा सम्मका छोराछोरीलाई अभिभावकले विशेष चासो राख्नुर्पछ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदेवी गुरुङले अभिभावक र विद्यार्थीले नै चाहे अनुसार विद्यालयमा पठनपाठन भईरहेको दाबी गर्दै विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिईन् । विद्यालयका प्रबन्ध निर्देशक श्रीजंग गुरुङले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय लागिपरेको भन्दै आफ्ना छोराछोरी जिम्मा लगाएर गुण लगाईदिने अभिभावकप्रति आभार व्यक्त गरे ।

विद्यालयका प्रिन्सिपल मोहनप्रसाद पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अन्य विद्यालयको तुलनामा सर्वसूलभ शुल्कमा स्तरीय शिक्षा प्रदान गरेको दाबी गरे। अभिभावकका तर्फबाट बोल्दै शक्तिप्रसाद श्रेष्ठले छिमेकीहरुले ठूला भवन, धेरै बस, धेरै फि तिर्नुपर्ने विद्यालयमा पढाए राम्रो शिक्षा पाईने भनेर सुझाव दिने गरेपनि सस्तो र सानै विद्यालयमा पढेर पनि आफ्नी नातिनी उनीहरुको तुलनामा पढाईमा कम नभएको बताए । उनले शिक्षक शिक्षिकाले कुटेर पिटेर पढाउन नहुने भन्दै माया गरेर पढाउनुपर्ने बताउँदै विद्यालयमा सबै कुरा राम्रो भएको जिकिर गरे । कार्यक्रममा अभिभावक छविलाल पौडेल, शिक्षक शिव भट्टराई, विद्यार्थी शिवानी गुरुङ लगायतले बोलेका थिए ।

सो अवसरमा मुटुपीडित शिक्षक शिव भट्टराईकी आमा सन्तुमाया भट्टराईलाई सम्मान गरिएको थियो । पहिलो शल्यक्रिया सफल नभएपछि शिक्षक भट्टराई दोस्रो पटक शल्यक्रिया गर्ने तयारीमा छन् । तर उनको साथमा उपचारमा लाग्ने खर्च नभएकाले सहयोगको याचना गरेका छन् । विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलले सहयोगका लागि अपिल गरेको छ । विद्यालयले हालसम्म करीब दुई लाख सहयोग गरेको जनाएको छ ।

यस्तै, दीर्घ सेवा पुरस्कारबार शिक्षिक ईश्वरी गुरुङलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियो । सो अवसरमा विद्यालयमा संचालित उत्कृष्ट रातो सदन लगायतलाई पुरस्कृत गरिनुका साथै विद्यालयमा शैक्षिक तथा अतिरिक्त क्रियाकलाप, खेलकूद प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सर्वोत्कृष्ट विद्यार्थीमा रोशनी कुँवर, अनुशाषित विद्यार्थीमा रवि अधिकारी र सर्वाधिक हाजिरीमा सुप्रेक्षा गुरुङ पुरस्कृत भए । यस्तै, विद्यार्थीहरुले गीत, नृत्य, दाईजो प्रथा विरुद्ध चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: