पोखराका १६३ सहित गण्डकीमा शुक्रबार थप २७४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु पुष्टि

Share:

पोखरा । पोखराका १६३ सहित गण्डकी प्रदेशमा आज शुक्रबार थप २७४ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका ९ वटा जिल्लाका २७४ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १६३ जना छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, गोरखाका ४३ जना, बाग्लुङका २३ जना, नवलपुरका १७ जना, स्याङ्जा र म्याग्दीका ९/९ जना, तनहुँका ७ जना, पर्वतका २ जना तथा लमजुङका एक जनामा पनि कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८ हजार ६४५ पुगेको छ ।

यस्तै, गत २४ घण्टामा पोखराका एक सहित गण्डकीमा थप ३ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमा कास्की र मुस्ताङका एक/एक जना महिला तथा स्याङ्जाका एक पुरुष रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका– ६ की ८२ वर्षीया कोरोना संक्रमित महिलाको हिजो बिहीबार बेलुका चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा बैशाख १५ गते बुधबार मात्रै कोरोना पुष्टि भएको थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिका– ४ की ७२ वर्षीया कोरोना संक्रमित महिलाको हिजो बिहीबार बेलुका ९ः४५ बजे जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ती महिलामा हिजो नै कोरोना पुष्टि भएको थियो ।

यस्तै, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका– ५ का ६२ वर्षीय संक्रमित पुरुषको पनि हिजो बिहीबार राति १२ः४५ बजे मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो । ती पुरुषमा बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १६ हजार ८८२ पुगेको छ ।

हाल प्रदेशभर १५३९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १४३२ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ६१८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४४ हजार ४८९ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: