
रञ्जन अधिकारी पोखरा, १५ फागुन / नेपाल मगर संघ, कास्कीले ३३ औं मगर दिवस (फागुन १५) विशाल ¥याली सहित विविध कार्यक्रम गरी शुक्रबार मनाएको छ । कास्कीमा रहेका मगर समुदायले पोखरामा विशाल ¥याली प्रदर्शन सहित सांस्कृतिक कार्यक्रम गरी मगर दिवस मनाए ।
चिप्लेढुंगाबाट सुरु भएको मगरहरूको सांस्कृतिक झाँकी र बाजा गाजासहितको ¥याली संघको भवन पुगेर ३३ औं मगर दिवस समारोहमा परिणत भएको थियो । ¥यालीमा कास्की स्थित विभिन्न ३६ इकाई समितिको सहभागिता रहेको संघले जनाएको छ । मगर भेषभुषा सहित सहभागी भएका मगरहरुले शहीद लखन थापामगरलाई प्रथम शहीद घोषणा गर, पहिचानसहितको सङ्घीय संविधान जारी गर, मगरात स्वायत्त प्रदेश घोषणा गर, मगर एकता जिन्दावाद, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षा गरौंलगायतका नारा लगाउँदै महेन्द्रपुल (भिमसेनचोक), नयाँबजार, पृथ्वीचोक (लखनचोक) हुँदै पोखरा रंगशाला गेट अगाडिको मगर संघ कार्यालय पुगेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि नेपाली कांग्रेसकी समानुपातिक तर्फकी सभासद् वृन्दा रानामगरले राज्यमा पहुँच र प्रतिनिधित्व नभएसम्म आफ्ना हक अधिकार सहज रुपमा प्राप्त हुन नसक्ने भन्दै जनजातिहरु जागरुक हुनुपर्ने बताईन् । उनले मगरहरु राजनीतिक रुपमा पनि सक्रिय हुनुपर्ने भन्दै अनिमात्रै सशक्तिकरण हुने बताईन् ।
सभासद् रानाले सबैको अपनत्व भएको संविधान आउनेमा विश्वास दिलाउँदै संसदीय व्यवस्थाले नै सबै जात÷जाति, भाषाभाषी, धर्म र संस्कृतिलाई समावेशी प्रतिनिधित्व गराउने जिकिर गरिन् । ‘मगर संघहरु सामाजिक संस्थाका रुपमा क्रियाशील छन् । अब आफ्नो जातिको पहिचान र प्रतिनिधित्वका लागि जुट्नुपर्नेछ ’ – उनले भनिन् – ‘ जनजाति मगरलगायतका उत्पीडित जनसमुदायको पक्षमा नयाँ संविधान बनाउन म सधैं लागिपर्नेछु ।’ उनले मगरात स्वायत्त प्रदेश सबैको साझा मुद्दा भएको स्मरण गराउँदै मगरहरू भावनात्मक रूपमा एकताबद्ध भइ राजनीतिक आन्दोलनलाई अघि बढाउनुपर्ने उनको भनाई छ । संविधान निर्माणको सन्दर्भमा माघ ८ गते नयाँ संविधान जारी गर्न नसकेपनि जनता हतास हुनुपर्ने अवस्था नभएको सहमतिमा नै संविधान जारी गर्ने पार्टीको निर्णय भएकोले अब छिट्टै समावेसी, समानुपातिक र सम्पूर्ण नेपालीहरुलाई अपनत्व हुने खालको संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरीन् ।
नेपाल मगर संघका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष भिम पुनले पुनहरु भित्र नै एक समूह मगर होईनौं भन्ने मानसिकता लिएर अघि बढेकोमा आपत्ति जनाउँदै फुटाउन खोज्नेहरुलाई खबरदारी गरे । पुनले आदिवासी जनजातिमाथि विगतदेखि नै विभेदपूर्ण व्यावहार गरेको र राज्यसत्ताको पहुँचबाट टाढा गर्ने षड्यन्त्र भइरहेको बताए ।
केन्द्रिय सदस्य झलक बहादुर राना मगरले फागुन १५ ले मगर जातिको एकताको लागि आह्वान गर्ने र जातीय उत्थानका लागि अग्रसर हुन दिशा निर्देश गर्ने जनाए । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष पान बहादुर घर्ती भुजेललेसंघर्ष विना अधिकार प्राप्त नहुने भएकाले जनजातिको पहिचान खोस्ने षड्यन्त्र विरुद आन्दोलित हुन आग्रह गरे ।
पश्चिमाञ्चल (गेसो) का हर्कबहादुर पहरे पुनले आफ्नो हक अधिकारका लागि अब सचेत हुनुपर्ने बताउँदै जनजाति नेताहरुले पनि दोहोरो कुरा नगर्न चेतावनी दिए । ह्योल्मो समाजका क्या. पूर्णबहादुर ह्योल्मोले विदेशिने प्रवृत्ति र चेतनाको कमीले जनजातिहरु पछि परेको बताए ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले भाषिक तथा सांस्कृतिक रुपमा जनजातिहरु अघि रहेपनि नयाँ पुस्ता आफ्नो भाषा र संस्कृतिबाट टाढिँदै गएकाले अब यसतर्फ चिन्ता गर्नुपर्ने बताए । उनले आर्थिक रुपमा कमजोर हुँदै गएको भन्दै पालिखेले जनजातिहरुमा राजनीतिक चेत हुनुपर्नेमा पनि जोड दिए ।
कुमाल समाजका प्रेमबहादुर कुमाल, थकाली सेवा समितिका अम्बर तुलाचन, नेपाल मगर संघ कास्कीका संस्थापक अध्यक्ष क्या. कृष्णबहादुर थापा मगर, पञ्चकोशी आर्थर डाँडाखर्क समाजका अध्यक्ष लालप्रसाद तमु, मगर विद्यार्थी संघका केन्द्रिय प्रचार सचिव फरेन्द्र थापा मगर लगायतले अब जनजातिहरु सधैं पछि परेर बस्न नहुने बताए ।
संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा सह–उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले स्वागत तथा सह–कोषाध्यक्ष कुमार थापामगरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सो अवसरमा ¥यालीमा विजयी हुने नेपाल मगर सङ्घ कास्की अन्तर्गतका विभिन्न इकाई समितिलाई पुरस्कृत गरिएको थियो । जसमा सर्वोत्कृष्ट यस वर्ष पनि रामबजार इकाई हुन सफल भयो । झाँकीमा नयाँबजार इकाई, भेषभूषामा बुढीबजार तथा संख्यात्मक रुपमा ढुंगेपाटन इकाई उत्कृष्ट बनेका थिए । त्यसैगरी, कार्यक्रममा अफगानिस्तानमान युद्धका क्रममा एक्लै दर्जनौं तालिबानी विरुद्ध लडेका ब्रिटिश आर्मी दिलप्रसाद पुन, डा. सुशान्त थापा मगर, ई. विष्णुबहादुर थापा मगर, नर्सहरु युरिका थापा मगर र सन्दिपा थापा मगर, ईकाई पूर्व अध्यक्षहरु छोरेपाटन इकाईका बिनोद थापा मगर, तालचोक इकाईका चन्द्रबहादुर थापा मगर लगायतलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विभिन्न इकाई समितिले मगर जातिमा प्रचलित सालैजो, कौरा, झ्याउरे, सोरठी, नौमती बाजालगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । परम्परागत झाँकी लिएर पोखरा आएको रैकर इकाई सचिव सोमबहादुर सुनारी मगरले जानकारी दिए ।

