एमाओवादीले संविधान चाहेन– डा . कोइराला

286
0
Share:

रञ्जन अधिकारी पोखरा, २१ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा . शेखर कोइरालाले एकीकृत नेकपा माओवादीले संविधानसभावाट संविधान बनाउन नचाहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ६९ औं स्थापना दिवस तथा होलीको अवसरमा युनियन काँग्रेस र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा विहीबार पोखरामा आयोजना गरेको फागु पूर्णिमा कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानसभाले संविधान निर्माणका लागि बनाएको प्रश्नावली समिति खारेज गर भन्नुले नै संविधान नचाहेको स्पष्ट भएको बताए ।

सभासद् समेत रहेका डा. कोइरालाले जातीयताको नाममा प्रदेश वनाउंदै जाने हो भने देशमा नाईजेरिया र सुडानको जस्तै अवस्था आउने धारणा व्यक्त गरे । डा . कोइरालाले माओवादीले दश वर्षे हत्या हिंसा गरेर गणतन्त्र नआएको बताउंदै कांग्रेसको महासमितिको वैठकले गणतन्त्रको प्रस्ताव पास गरेपछि मात्रै गणतन्त्र आएको जिकिर गरे । उनले भने — उता मधेसी मोर्चाले पनि जिल्ला टुक्रयाएर मुलुकमा द्धन्द सृजना गरी विखण्डनतिर लान खोजेको छ ।

पूर्व सांसद तथा काँग्रेस कास्कीका पूर्व सभापति शुक्रराज शर्माले प्रजातन्त्रमा आस्था राखेर एकजुट भएर अधि बढे प्रजातन्त्रवादीकै जीत हुने बताए । नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुंवरले मजदूरहरुको सामाजिक सुरक्षा कोष स्थापनाका लागि ऐन वनाउन युनियनले पहल गरेको जानकारी दिए ।

सभासद् शारदा पौडेलले गिरीजाबाबुले देखाएको मार्गमा अघि बढ्नुपर्ने बताउँदै सहमति नभए प्रक्रियाबाट लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नभएको देखाईन् । सभासद् बृन्दादेवी रानाले प्रकृयाको ढोका खुलेकोले यसको माध्यमवाट अवश्यनै नेपाली जनताले संविधान पाउने विश्वास दिलाए ।

नेपाल यातायात मजदूर संघ कास्की अध्यक्ष जीत वहादुर गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काग्रेस कास्कीका सचिव कृष्ण केसी, नेपाल ट्रेड युनियन काँग्रेस क्षेत्रीय संयोजक मुरारी शर्मा, प्रशिक्षण विभागका सदस्य देवराज चालिसे, महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल, गणेशमानसिंह फाउण्डेशनका खेमराज पौडेल, नेपाल कारखाना श्रमिक संघका टेकनाथ पन्थी, प्रेस युनियनका जिल्ला अध्यक्ष शिरोमणि वराल, ड्राईभिङ स्कूल संघ मोहन गुरुङ, विश्वेश्वर पराजुली, कृष्णप्रसाद श्रेष्ठ, भेषप्रसाद ढुंगाना लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेस कास्की सभापति कुलदेवी बरालले स्वागत तथा सचिव केशवराज भट्टराईले सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: