‘प्रधानमन्त्री ज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ?’ ‘पत्र सहित’

362
0
Share:

२७ फागुन, काठमाडौं ।  ‘प्रधानमन्त्रीज्यू, हाम्रो जीवन र सपना चकनाचुर पार्ने त्यो को हो ? १७ दिनसम्म ऊ किन पक्राउ परेन ? उसलाई पक्राउ गरी फाँसी दिइयोस् ।’ काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्न गएका बेला १७ दिन अघि एसिड आक्रमणमा परी घाइते भएकी सीमा बस्नेतले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई यस्तो व्यहोराको पत्र लेखेकी छन् । सीमाको पत्र लिएर बुधबार उनकी सानिमा प्रधानमन्त्री कोइरालालाई भेट्न पुगेकी थिइन् । एसएलसीको तयारीका क्रममा ट्युसन पढिरहेका बेला काठमाडौंको बसन्तपुरस्थित ट्युसन सेन्टरमा एसिड आक्रमणको शिकार बनेकी बस्नेतले प्रधानमन्त्रीलाई लेखेको पत्र चार पृष्ठ लामो छ ।

‘त्यो व्यक्ति को हो ? जसले आफ्नो जीवनको सपना पूरा गर्न साँझ बिहान अतिरिक्त मेहनत गरेर पढिरहेका हामीमाथि एसिड प्रहार गर्ने धृष्टता गर्योो ?’ सीमाले पत्रमा भनेकी छन्-‘ त्यो को होला ? १७ दिनसम्म पक्राउ नपर्ने कारण के होला ?’ सीमाले पत्रमा आफू रौतहटबाट भविश्य बनाउन हजुरआमाको साथ लागेर राजधानी आएको र हजुरआमाले दुख गरेर पढाएको उल्लेख छ एसिड आक्रमणमा परेकी संगीताको अवस्था अहिले सीमाको भन्दा कमजोर छ । सीमाले अहिलेसम्म आफ्नो कुनै केटासाथी नभएको प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । त्यस्तै फेसबुक आइडी र आफूसँग मोबाइलसमेत नभएको उनले उल्लेख गरेकी छन् । आफ्नो जीवनको सपना पूरा गर्न रौतहटबाट काठमाडौं आएको उनले बताएकी छिन् ।

सबैभन्दा ठूलो चिन्ता एसएलसीको

सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफूले एसएलसी दिन पाउँछु कि पाउँदिन भन्ने गम्भीर चासो र चिन्ता व्यक्त गरेकी छिन् । सीमाजस्ता किशोर किशोरीको भविश्य एसएलसीसँग जोडिएको हुन्छ । सीमाले प्रधानमन्त्रीलाई लेखेकी छिन् ‘ म एसएलसी दिन पाउँछु कि पाउँदिन, अन्योलमा छु । एसएलसीको तयारी पनि भएको छैन, सेन्टर कहाँ हो ?’

अपराधीलाई फाँसीको माग

सीमाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आफ्नो जीवन र सपना चकनाचुर पार्नेलाई चााडो पक्राउ गरी फाँसी दिन माग गरेकी छिन् । ‘दोषीलाई पक्रिएर कावाही नभए हामीजस्तै अरु दिदी बहिनीमाथि पनि यस्तै हुन सक्छ,’ सीमाको पत्रमा भनिएको छ ।

उपचारस्थलबाटै एसएलसी दिन पाउने

सीमाको पत्र आउनासाथ प्रधानमन्त्री सुशील कोइरालाले अपराधीलाई चाँडो पक्राउ गर्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन् । साथै पीडित किशोरी सीमा र संगीता दुबैलाई उपचारस्थलबाटै एसएलसी दिने व्यवस्था गर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘सीमा र संगीतालाई पचारस्थलबाटै एसएलसी दिन पाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले भन्यो, ‘गृहमन्त्रालयलाई पनि दोषीलाई चाँडो पक्राउ गर्न प्रधानमन्त्रीले फेरि दोस्रोपटक निर्देशन दिनुभएको छ ।’

यस्तो छ सीमाको पत्र: 

नमस्कार प्रधानमन्त्री सुशील कोइराला ज्यू

मेरो नाम सीमा बस्नेत हो । म कक्षा १० मा पढ्ने विद्यार्थी हुँ । मेरो घर मामाघर जे भने पनि रौतहट जिल्ला पौराई गविस वडा नं. १ मा हो ।
म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु तर, मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ ।

म एउटा कलिलो भर्खरको काँचो माटो छु । मेरो जन्म वि.सं. २०५५/९/१६ गते रौतहट जिल्लामा भएको हो । म मेरो जिल्लामा कक्षा ६ सम्म अध्ययन गरेर २०६८ साल चैत २५ गते काठमाडौंमा आफ्नो भविश्य राम्रो र उज्वल बनाउन भएकी थिएँ । काठमाडौं शहरमा बसेको ४ वर्ष भयो । म मेरो जीवनमा यस्तो डरलाग्दो सपनामा पनि नसोचेको र कल्पना गर्न नसक्ने घटना घट्दा धेरै दुःखी छु । म त भविश्यमा नाम कमाउने उद्देश्य राखी आफ्नो पढाईलाई मात्र ध्यान दिन्थेँ । हजुरआमाले २०६८ साल वैशाख ५ गते कान्ति इश्वरी राज्य लक्ष्मी माविमा भर्ना गरिदिनुभयो । त्यसपछि अझ राम्रो पढ्ने अवसर भयो ।
म भविश्यमा एउटा असल गायिका बन्न चाहन्छु । मेरो हरेक सपनाहरु पानीमा बगे जस्तै लाग्छ । मेरो जीवन मात्र खेर गएको छैन, यहाँ संगीताको पनि जीवन खेर गएको छ । उसको पनि हरेक इच्छा चाहना सबै खेर गयो ।

मेलै जीवनमा मोबाइल बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन संगीता, म र हेमु एसएलसी परीक्षाका लागि तयार गर्दै थियौं । मैले संगीतालाई चिनेको जम्मा एक हप्ता मात्र भयो । हामीहरु ए प्लस ट्युसन सेन्टरमा पढ्थ्यौं । संगीता, म र हेमु विहान ६ः१५ मा सरको बाटो हेरेर बसेका थियौं । संगिताले मलाई पनि अकाउन्टको हिसाव सिकाउँदै थिइँ । एक्कासी एउटा मान्छेले ढोका खोल्यो । म त सपना हो कि विपना हो भएँ, मेरो हातको कलम समेत बन्द भयो । त्यो मानिसले बोतलमा एसिड ल्याएको थियो । ढोका उखारेर हामीलाई एसिड छ्यापेर भाग्यो । म पछाडिको सेकेण्ड बेन्चमा बसेकाले मेरो निधार र मुखमा एसिड पर्‍यो । टाउकोमा कापाल काट्नु पर्‍यो ।

त्यो मानिस को थियो होला ? उसले संगीता र मलाई एसिड किन छ्याप्यो यहि कुराले मलाई दिनरात पिरोलिरहेको छ । तर, त्यो मानिसले हामीहरुमाथि यस्तो डरलाग्दो एसिड जस्ता पदार्थ किन खन्यायो ? तर, मैले भन्नुपर्दा म एउटा विद्यार्थी हुँ । मेरो जीवनमा अहिलेसम्म मोबाइल आफ्नो साथमा बोकेकी छैन । फेसबुक पनि खोलेकी छैन र ब्वाइफ्रेण्ड पनि छैन । मेरो जीवनमा भाइहरु बाहेक अरु कुनै केटा साथीहरु छैन । एसएलसी परीक्षा राम्रो माक्स ल्याएर कजेलमा पढ्ने ठूलो धोको थियो । अब मेरा लागि यस्ता हरेक इच्छा, चाहना र सपना सोच्ने दिन गए ।

त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला । म त यो समाजमा बाँचेर पनि राम्रो काम गर्न सक्दिँन होला जस्तो लाग्छ । यो एसिड छ्याप्ने ब्यक्ति को थियो ? हामीहरुले उसको के विगारेका थियौं होला ? त्यो पनि एसएलसी परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुमाथि यस्तो व्यवहार किन गर्‍यो ?

त्यसको पनि संगिता र मेरो जस्तै दिदी बहिनी होलान् । हाम्रो ठाउँमा उनीह भएको भए त्यस अपराधीलाइए कति पीडा हुन्थ्यो होला । हामीले अहिले जति पीडा भोगेका छौं, उनीहरुलाई पनि त्यति नै पीडा हुन्थ्यो । मानिसले जीवनमा धेरै गल्ती गर्छन् । तर, गल्ती गर्‍यो भन्दैमा जसले गल्ती गरेको हो, उसलाई अन्य तरिकाहरु अपनाएर सम्झाउन सकिन्छ । यदि त्यसरी नमानेमा कानूनको सहायता दिन सकिन्छ । कानून किन बनेको हो र ? यस्तो समस्याहरुको समाधान गर्न बनेको होइन र ?

हाम्रो समाजमा दिन प्रतिदिन यस्तो अवराधिक घटनाहरु किन घटिरहेका छन् ? हामी यस्ता अपराधीहरुलाई अर्थात म र संगीतामाथि एसिड प्रहार गर्ने मान्छेको मनोबल झन बढ्ने देखिन्छद्ध । हामीमाथि एसिड छ्यापेको आज १७ दिन भइसक्दा पनि कुनै एक जनालाई पनि प्रहरीले पक्राउ गर्न सफल नभएको देखिन्छ ।

आज मलाई यस्तो लाग्छ कि आउँदा चैत ५ गतेदेखि मेरो एसएलसी परीक्षा हुने भएका पनि म दिन पाउँछु कि पाउँदिँन भन्ने अन्यौल छ । आज म जुन अवस्थामा पुगेको छु । त्यसले गर्दा म पहिलेको अवस्थामा त पुग्न सक्दिन तर, म र संगीतामाथि एसिड प्रहार गर्ने व्यक्तिलाई पक्राउ गर्न नसक्दासम्म भोलिका दिनमा यस्ता घटना अरु नेपाली दिदीबहिनीमाथि हुन सक्दैन भन्न सकिन्न ।

अन्त्यमा प्रधानमन्त्री सुशील कोइराला ज्यू, म यति चाहन्छु कि म र संगीतामाथि एसिड प्रहार गर्ने पापी त्यो अपराधीलाई कानुनी दायरामा ल्याई फाँसीको सजाय होस् ।
सीमा बस्नेत
हाल वीर अस्पतालको क्यनविन नं ९
एसिड प्रहारबाट घाइते बनेकी नेपाली चेली

कमेन्ट गर्नुहोस्
Share: