
काठमाडौं, ७ चैत । पार्टीको भातृ संगठन युवा संघ नेपालको गुटबन्दीसँगै एमालेका शीर्षनेताहरुहरु पनि समानान्तर भेलामा कित्ताबन्दी भएका छन् । पार्टीको युवा फाँटको निर्देशन विपरित युवा संघ नेपालका दुई वटा समूहले अलग अलग स्थानमा गरेका कार्यक्रमलाई पार्टीका जिम्मेवार नेताले नै साथ दिएका छन् ।
युवा संघको संस्थापन पक्षले शनिबार हेटौंडामा गरेको बिस्तारित बैठकमा पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी तथा महासचिव ईश्वर पोखरेल राज्यकोषबाट खर्च व्यहोर्ने गरी हेलिकोप्टर लिएर सहभागी हुनुभएको छ भने असन्तुष्ट पक्षले काठमाडौंमा गरेको कार्यक्रमलाई पार्टी नेता माधवकुमार नेपालले साथ दिनुभएको छ ।
युवा फाँटले राष्ट्रिय कार्यकर्ता भेला रोक्न निर्देशन दिएपछि युवा संघको असन्तुष्ट पक्षले पुष्पलाल—मदन भण्डारी केन्द्रीय पुस्तकालयको ब्यानरमा नेता नेपाललाई मुख्य अतिथि बनाएर विचार गोष्ठी गरेको छ । कार्यक्रममा नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हेटौंडाको कार्यक्रम रोक्न नलगाएर आफूसँग भएको सहमति उल्लंघन गरेको आरोप लगाउनुभयो ।
उहाँले अध्यक्ष ओली र आफूबीच शुक्रबार युवा संघभित्रको विवाद मिलाउन तीन सदस्यीय छानबिन समिति गठन गर्ने र दुवै स्थानमा तय गरिएका कार्यक्रम रोक्न लगाउने सहमति भएको भन्दै सहमति कार्यान्वयन गर्नुको साटो अध्यक्षले हेटौंडाको कार्यक्रममा पार्टीका उपाध्यक्ष र महासचिवलाई खटाएर विवाद चर्काउन खोजेको आरोप लगाउनुभयो ।
एमाले नेता नेपालले युवा संघमा देखिएको विवादलाई स्वाभिमानको लडाईंको संज्ञा दिएका छन् । नेता नेपालले ओलीले अध्यक्षको जिम्मेवारीलाई गम्भीरतापूर्वक बहन गर्नुको साटो कार्यकर्तालाई काखा र पाखाको व्यवहार गरेको भन्दै कार्यकर्तामाथि हुने अन्यायलाई आफूले कुनै हालतमा नसहने बताउनुभयो । उहाँले अध्यक्ष ओलीले सिद्धान्तप्रति प्रतिबद्ध र निष्ठावान कार्यकर्तालाई दासको व्यवहार गर्न खोजेको तथा गुण्डा र तस्करहरुलाई संरक्षण दिएको आरोप समेत लगाउनुभयो ।
नेपालले युवा संघका सचिव अशोक चन्दमाथि आक्रमण गर्नेहरुलाई कारबाही गरेर तत्काल युवा संघबाट हटाउन माग गरेका छन् । नेता नेपालले प्रश्न गरे-‘गुण्डा, मुन्द्रेहरुलाई कारबाही गर्ने कि नगर्ने ? यस्ता मुन्द्रेहरुलाई संरक्षण गरिन्छ भने संगठन कसरी चल्छ ?’ बिहीबार साँझ मीनभवनमा युवा संघका सचिव अशोक चन्दमाथि सांघातिक हमला भएको थियो । उक्त हमला केपी ओली पक्षका मान्छेले गराएको नेता नेपालले संकेत गर्दै त्यस्तालाई संगठनबाट हटाउन माग गरेका हुन् । युवा संघलाई रक्त चन्दन तस्कर, पैसा कलेक्टर र गुण्डाहरुको संगठन हुनबाट बचाउनुपर्ने एमाले नेता नेता नेपालले जोड दिए । युवा संघमा आउरे बाउरेलाई मनोनित गर्ने काम भएको भन्दै नेता नेपालले त्यसका विरुद्ध उठाएको आवाजलाई पार्टीले सुन्नुपर्ने बताए । उनले भने – ‘होइन, अन्याय हुन्छ भने संरक्षणका निम्ति माधव नेपाल उभिन्छ ।’
कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री तथा युवा संघका सचिवद्वय अशोक चन्द र क्रान्ति बुर्लाकोटीले पार्टी अध्यक्ष ओली पार्टीको नभइ गुटको मात्र नेता बनेको आरोप लगाउनुभयो । उहाँहरुले संघभित्र विधानविपरित भएका कामकारबाही सच्याउन पार्टी नेतृत्वले पहल नगर्नुले पार्टी भूमिगत गिरोहले सञ्चालन गरेजस्तो देखिएको समेत बताउनुभयो ।
संस्थापन पक्षको युवा संघको वैठक
देश टुक्र्याउन माओवादीसँग सहमति गरेका होइनौ : गौतम
हेटौडा, चैत्र ७ – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले हिमाल,तराई र पहाडलाई टुक्राउन माओवादीसँग १२ बुँदे सहमति नगरेको बताए । उनले कुनै पनि हालतमा एमालेले मुलुकलाई विभाजित र जातीय सदभाव भड्किन नदिने दावी गरे ।
हेटौंडामा शनिबरा युवा संघ नेपालको बैठक उदघाटन गर्दै उपप्रधान तथा गृहमन्त्री गौतमले मुलुकको स्वतन्त्रता र अखण्डतलाई च्याखे थापेर एमालेले राजनीति नगर्ने बताउदै भने,’एमालेले मुलुकमा जातीय द्वन्द्व मच्चाउने विषाक्त विचारहरुलाई पराजित गर्दैै आएको छ ।’ एमालेका उपाध्यक्षसमेत रहेका गौतमले सर्वसाधारण जनतालाई लाठी देखाएर तर्साएपनि एमालेलाई तर्साउन नसक्ने दाबी गरे । एमाले संविधान सभाको निर्वाचनमा दोस्राे दल भएपनि विचारकेा हिसाव पहिलो पार्टी भएको दावी गर्दै उनले भने, ‘मुलुक अहिले एमालेको वरिपरी घुमिरहेको छ ।’
उपप्रधान मन्त्री गौतमले संविधान सभावाट संविधान जारी गर्न देशी एवं विदेशी कुनै पनि शक्तिले रोक्न नसक्ने विचार व्यक्त गरेका थिए । अव छिटै नै संविधान सभाको वैठक सुरु हुने बताउँदै उनले भने,’दलहरुबीच सहमती भएपनि प्रक्रियामा अगाडी वढछ,असहमती भएपनि प्रक्रियावाटै संविधान जारी हुन्छ ।’
कार्यक्रममा पार्टी उपाध्यक्ष्ा विद्यादेवी भण्डारी, पार्टीका नेता किरण गुरुङ, उद्याेग मन्त्री तथा युवा संघका निवर्तमान अध्यक्ष्ा महेश वस्नेतलगायतले बोलेका थिए । आइतवारसम्म संचालन हुने उक्त वैठकमा करिब ७ सय जना प्रतिनिधीहरुको सहभागीता छ । एमालेको युवा फाँट हेर्ने इन्चार्ज र अनुशासन विभागले एमालेका संस्थापन र असन्तुष्ट पक्ष्ाको भेला वैठक रोक्न निर्देशन दिएको थियो ।
उद्योगमन्त्री महेश बस्नेतले माघ २१ गते युवा संघको अध्यक्षबाट राजीनामा दिइ उपाध्यक्ष निरुदेवी पाललाई अध्यक्षको जिम्मेवारी दिएपछि युवा संघ स्पष्ट रुपमा दुई समुहमा बाँडिएको हो । माघ २१ गतेयता संस्थापन र असन्तुष्ट समूहले अलग अलग रुपमा कार्यक्रम गर्दै आएका छन् ।
