
पोखरा ८ चैत्र । औषधिको रुपमा प्रयोग हुने जडिबुटी निरमसी खादा पोखराको हेम्जामा एक दम्पत्तीको ज्यान गएको छ । पोखरा उपमहानगरपालिका वडानम्बर २८ हेम्जा निवासी ६२ बर्षिय बल बहादुर केसी र उनकी श्रीमति ५७ बर्षिय लक्ष्मीको उपचारको क्रममा चरक अस्पतालमा ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
औषधिको रुपमा पुवामा मिसाएर खाएको निरमसीनै उनिहरुको मृत्युको कारण बनेको प्रहरी नायब उपरिक्षक केदार रजौरेले जानकारी दिए । उनका अनुसार मृत्युपछि प्रारम्भिक अनुसन्धानको क्रममा बल बहादुरले चिकित्सकसंग निरमसी खाएको भन्दै एक टुक्रा देखाएका थिए । शनिवार दिउसो खाजाको लागि बनाईएको पुवामा निरमसी मिसाएर खाएपछि तत्काल बिरामी भएकी श्रीमति लिएर मणिपाल शिक्षण अस्पताल हुदै उपचारको लागि चरक अस्पताल जान पुगेका बल बहादुरको पनि ज्यान गयो ।
पुवा खाएपछि बिरामी लक्ष्मीलाई आफैले लिएर सकुशल अस्पताल गएका बल बहादुरको श्रीमतिको मृत्युको एक घण्टा नबित्दै ज्यान गयो । चरक अस्पतालमा पुर्याएलगतै चिकित्सकले श्रीमतिलाई बचाउन नसक्ने जानकारी गराएपछि बल बहादुरले आफुले पनि सोहि खाना खाएको बताएका थिए । उनले चिकित्सकलाई निरमसीको टुक्रा देखाएका थिए । बिषादी सेवनको कारण श्रीमतिको मृत्यु भएको चकित्सकले बताएपछि उनलाई पनि सोहि बिषादीको असर देखिएको र ५० मिनेटमै मृत्यु भएको रजौरेले बताए ।
दम्पत्तीको शब पोष्मार्टमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाको यथार्थ बाहिर आउने र अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।
