
काठमाडौं, चैत्र २० । ६६ दिनसम्म समुद्रमा हराएका एकजना अमेरिकी नागरिकलाई जीवितै उद्धार गरिएको छ ।
एट्लान्टिक सागरमा माछा मार्नेक्रममा डुंगा डुबेपछि ३७ वर्षीय अमेरिकी नागरिक लुइस जोर्डन सम्पर्कविहीन बनेका थिए । जोर्डन हराएको खबर उनका पिताले गरेपनि उद्धारकर्ताहरुले उनलाई भेट्टाउन सकेका थिएनन् ।

तर, जर्मनीको एउटा कन्टेनर पानीजहाजले विहीबार अमेरिकाको उत्तरी क्यारोलाइनाबाट २ सय माइल टाढा एट्लान्टिक सागरमा उनलाई देखेपछि उद्धार गरेर समुद्रको तटसम्म ल्याइदिएको थियो ।

यसपछि ‘कोस्ट गार्ड’को हेलिकप्टरबाट उनलाई अस्पताल लगिएको थियो । अस्पताल जाँदा उनी हिँड्नसक्ने अवस्थामा तन्दुरुस्त र स्वस्थ देखिएका थिए ।
आधा डुबेको डुंगाको माथिल्लो भागमा बसेर ६६ दिनसम्म आफैंले मारेको काँचो माछा र वर्षा हुँदा संकलन गरेको पानी पिएर बाँचेको जोर्डनले बताएका छन् । (एजेन्सी)
