
पोखरा ५ बैशाख । तत्कालीन राजाररानी पोखरा आउँदा बास बस्न फेवाताल किनारमा बनाइएको रत्न मन्दिरलाई पार्क बनाउने प्रस्ताव अघि सारिएको छ । राज परिवारको पोखरेली दरबारको रुपमा परिचित रत्न मन्दिरलाई जैविक विविधता पार्क बनाउने प्रयास सुरु भएको हो ।
४०० रोपनी क्षेत्रफलमा रत्नमन्दिर सम्पदा क्षेत्र तथा जैविक विविधता पार्क बनाउने पहल भइरहेको सम्पदा संरक्षण समितिका संयोजक अध्यक्ष रामबहादुर पौडेलले बताए ।जसमा रत्न मन्दिरको १७७ रोपनी, बसुन्धरा पार्कको १२३, हेमा गृहको २५, वराही मैदानको ३० र कोमागाने पार्कको ४५ रोपनी छ । शनिबार रत्न मन्दिर परिसरमा सार्वजनिक प्रवेश दिइएको छ । क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियासहितको टोलीले अवलोकन गरेका थिए ।
कार्यक्रममा क्षेत्रीय प्रसाशक थपलियाले पोखरेलीको साझा भावना र आवाज अनुसार रत्न मन्दिरलाई जैविक विविधता पार्क बनाउन लागिएको बताए । उनले फेवाताल बचाउँदै यसको विकास, संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।
थपलियाले फेवाताल किनारमा ६५ मिटर छाड्नुपर्ने निर्णय कार्यान्वयन गरेरै छाड्ने घोषणा गरे । उनले जग्गा अतिक्रमणकारीले विरोध गर्दैमा अभियान नरोक्ने बताउँदै अटेर गर्नेलाई नछाड्ने चेतावनी दिए ।
राजा महेन्द्रले पोखरा आउँदा बस्न मिल्ने गरी वि.स.२०१४ सालमा पत्नी रत्नको नामबाट रत्न मन्दिर बनाएका थिए । गणतन्त्रपछि नेपाल रत्न मन्दिरलाई नेपाल ट्रष्टको मातहतमा ल्याइएको छ ।
