
काठमाडौँ, वैशाख ७ / संविधान निर्माणका विवादीत विषयमा सहमति खोज्नका लागि बसेको प्रमुख तीन दलको बैठकमा नेताहरु संविधान निर्माणमा सहमति भइसकेका विषयलाई प्रक्रियामा अघि बढाउन र नमिलेका विषयमा सहमति जुटाउँदै जान सकारात्मक देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एमाओवादीका शीर्ष नेताको बैठकले आउँदो वैशाख १० गते बस्ने संविधानसभाको बैठकसम्म सहमति जुटाउने गरी सो निर्णय गरेको हो । सहमतिको जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेका छन् ।
संविधान निर्माण कार्यलाई अघि बढाउने गरी आजको बैठकमा एमाओवादी गत माघ ५ गते मोटामोटी सहमति भएका तीन बुँदालाई मूर्तरुप दिने र चौथो बुँदामा लामो समय नअलमलिई टुङ्गो लगाउने विषयमा सहमत भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठले भने, ‘आजको बैठकमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले सहमति भएका विषयलाई मस्यौदामा पठाउँ र बाँकी नमिलेका विषयलाई छलफल गर्दै जाउँ भन्ने कुरा राख्नु भयो । यता, अध्यक्ष प्रचण्डले पनि सहमति भएका विषयलाई अघि बढाउने र विवादीत विषयमा सहमति खोज्ने भन्ने विषयमा सैद्धान्तिक र नीतिगत रुपमा असहमत रहने कुरा हुँदैन । तर, त्यो कसरी गर्ने भन्ने कुरा मुर्त रुपमा आउनुपर्यो ।’
सहमति भएका विषयलाई अघि बढाउने र विवादीत विषयमा सहमति खोज्ने भन्ने विषयमा सैद्धान्तिक र नीतिगत रुपमा असहमत रहने कुरा हुँदैन । तर, त्यो कसरी गर्ने भन्ने कुरा मुर्त रुपमा आउनुपर्यो – श्रेष्ठ
यसमा ठोस सहमति निर्माण गर्नका लागि तीन दलका शीर्ष नेतालाई जिम्मा दिने निर्णय गरिएको श्रेष्ठले जानकारी दिए । काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री सुशील कोइराला आज इन्डोनेसिया जाने भएपछि उहाँले उक्त कार्यका लागि एकजना नेतालाई त्यसको जिम्मेवारी दिने सहमतिसमेत भएको छ ।
उपाध्यक्ष श्रेष्ठका अनुसार बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा सर्वोच्च अदालतले गरेको निर्णयको सरकारले पुनरावलोकन गर्ने समझदारी पनि भएको छ ।
बैठकमा गत माघ ५ गते भएको सहमतिलाई संविधान निर्माणको प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिने निर्णय भएको काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सञ्चारकर्मीलाई जानकारी गराए ।
सहमति भएका विषयलाई प्रक्रियाका रुपमा संविधानसभाको आगामी बैठकमा अघि बढाउने र नमिलेका विषयमा छलफल गर्दै जाने निर्णय भएको एमालेका प्रमुख सचेतक अग्नि खरेलले बताए ।
संविधान निर्माण प्रक्रियालाई अघि बढाउने सम्बन्धमा प्रमुख दलबीच सैद्धान्तिक सहमति भएको बताउँदै प्रमुख सचेतक खरेलले वैशाख १० गतेसम्म केही सकारात्मक परिणाम आउने आशा व्यक्त गरे ।
प्रमुख दलहरुबीच गत माघ ५ गते संविधानका विवादित विषयमध्ये न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सहमति निकट रहेका थिए । सहमति नजिक रहेका विषयलाई मूर्त रुप शीर्ष नेताहरुले दिने बताइएको छ ।
