
काठमाडौं,१० बैशाख / लामो माथापच्चीपछि नेपाल वायुसेवा निगम सञ्चालक समितिले एउटा ठूलो चिनियाँ जहाजलाई थप तीन महिनासम्म उडाउने निर्णय गरेको छ। चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए भएकालाई फिर्ता पठाउने र ल्याउन बाँकी नल्याउने निर्णय पनि गरेको छ।
तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिमा नवीकरण गर्ने कि नगर्ने भन्ने स्पष्ट निर्देशन प्राप्त नहुनु तथा चिनियाँ जहाजको ‘पर्फर्मेन्स’ असाध्यै कम भएका कारण दोधारमा परेको निगमको सञ्चालक समितिले बुधबार उक्त निर्णय गरेको हो।
निगमले अनुदानमा प्राप्त गरेका दुईमध्ये ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) को बिमा शुल्क अत्यधिक महँगो हुनुका साथै अन्य प्राविधिक समस्या उच्च भएका कारण यसलाई उडाउने हो वा होइन भन्ने निर्णय गर्न निगमले पर्यटन मन्त्रालयको सहयोग मागेको थियो। मन्त्रालयले प्राविधिक समस्या हल गर्न सहयोग गर्ने आश्वासन दिए पनि बिमा नवीकरणबारे आफैं निर्णय गर्नुपर्ने बताएपछि सञ्चालक समितिले बुधबार तीन महिनाका लागि मात्र नवीकरण गर्ने निर्णय गरेको हो।
‘सबै विचार गरेर एमए–६० लाई तीन महिनाका लागि बिमा नवीकरण गर्ने निर्णय भएको छ,’ निगम सञ्चालक समिति स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘त्यस अवधिभित्र अन्य प्राविधिक समस्या समाधान भएन भने भएका पनि फिर्ता गर्ने र बाँकी चारवटा पनि नल्याउने निर्णयसमेत भएको छ।’
एमए–६० को बिमा नवीकरण गरिसक्नुपर्ने अन्तिम मिति आगामी शनिबार (वैशाख १२) सम्म छ। बेलायतस्थित बिमा कम्पनीमा आइतबार बिदा भएका कारण यो जहाज थप एक दिन आइतबारसम्म उडाउन पाइने छ। बिमा नवीकरण नगरी जहाज उडाउन पाइँदैन।
निगम सञ्चालक समितिले २०७१ माघ दोस्रो साता बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या
समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले गत चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय त्यसबेला पनि गरेको थियो।
त्यसको करिब दुई महिनापछि मन्त्रालयले चिनियाँ पक्षसँग वार्ता गरे पनि ठोस काम भने हुन सकेको छैन। जहाजको बिमा रकम उच्च भएको भन्ने निगमको भनाइलाई चिनियाँ पक्षले ‘यसमा आफ्नो चासो नभएको’ र मन्त्रालयले पनि बिमाको समस्या निगम आफैंले समाधान गर्नुपर्ने धारणा राखेपछि निगममा थप अन्योलमा थियो।
मन्त्रालय र चिनियाँ दुवै पक्षबाट स्पष्ट कुरा नआएपछि निगम व्यवस्थापनले मंगलबार पुनः मन्त्रालयलाई पत्र पठाएको थियो। त्यसको जवाफ आउन बाँकी भए पनि सञ्चालक समितिले थप तीन महिनाका लागि नवीकरण गर्ने निर्णय गरेको हो।
निगम अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ। अब तीन महिनाको बिमा शुल्क २ करोड २६ लाख ३० हजार रुपैयाँ तिर्नुपर्छ। यो रकम राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतस्थित बिमा कम्पनीलाई पठाइने छ।
निगमले यो जहाजको बिमा शुल्क असाध्यै महँगो भएको बताउँदै आएको छ। ‘एक प्रतिशतभन्दा बढी तिर्नसक्ने अवस्थामा निगम छैन। ठूलो परिमाणको बिमा शुल्क तिरेर जहाज उडाउँदा नाफा होइन, लागत पनि उठाउन सकिँदैन,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘त्यसमाथि चिनियाँ जहाजको उडान क्षमता पनि जहाज निर्माता कम्पनीले उल्लेख गरेभन्दा कम छ।’
निगमले बिमा रकम उच्च भएका कारण जहाज सञ्चालन गर्न अप्ठेरो भएको बताउँदै आएको छ। यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी छ। त्यसमाथि अमेरिका र युरोपले यो जहाजलाई हालसम्म मान्यता दिएका छैनन्। यसले पनि बिमा रकम महँगो भएको हो।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए३२०–२००’ सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी निगमले करिब तीन दशकदेखि सञ्चालन गरिरहेका ‘बि७५७’ सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि एमए–६० को बिमा शुल्क तीन गुणा बढी छ।
निगमले २०७१ वैशाख १४ मा एमए–६० काठमाडौं ल्याएको थियो। यसले असार ११ बाट नियमित उडान सुरु गरेको थियो। त्यसपछि माघसम्ममा प्राविधिक समस्याका कारण करिब एक दर्जन पटक यो जहाज ‘ग्राउन्डेड’ भएको थियो, जसबाट ८० दिन सेवा अवरुद्ध भएको थियो। ‘ब्रान्ड न्यु’ जहाजबाट बजार हिस्सा बढ्ने र प्रशस्त नाफा गर्ने निगमको योजना अहिले पूरै असफल भएको छ।
निगमले गत माघ दोस्रो साता मन्त्रालयमा पठाएको पत्रमा एमए–६० सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्ल्ेख छ।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) अहिले जहाजमा नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो अहिले नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ (धनगढीबाट फर्कंदा) जना यात्रुमात्र ल्याउन सक्छ।
