
काठमाडौं : आइसिसी क्रिकेट विश्वकप लिग टू को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले ९ विकेटको जित हासिल गरेको छ।
आशिफ शेख र अनिल साहको अर्धशतकले नेपाललाई जित हात पार्न सफल भएको हो। शेखले ५४, साहले ५७, ओपनर कुशल भुर्तेलले २८ रनको योगदान दिए।
जितका लागि नेदरल्याण्डले १ सय ३८ रनको लक्ष्य दिएको थियो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा १ सय ३७ रनमा अलआउट भएको हो।
नेदरल्याण्ड्सलाई सुरुदेखि दबाबमा राखेको नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २, कप्तान रोहित पौडेल र सोमपाल कामीले एक÷एक विकेट लिए। नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए। नेदरल्याण्ड्सका स्कट इडवार्डस्ले सर्वाधिक ३३ रन बनाए। बास डि लिडले २७ र सिब्राण्ड इङ्गलब्रेटले २३ रनको योगदान गरे।
