
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसलाई राजनीति नगर्न चेतावनि दिएका छन्।
विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे उठाएको प्रश्नको संसदमा जवाफ दिदैँ प्रधानमन्त्री दाहालले
हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुददामा पनि लामिछानेको कहीँ कतै जोडिएको नदेखिएको बताए।
‘मुद्दा बुझाइसक्दा सम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्नासाथ राजीनामा दिने हो भने के हुन्छके? हामी उजुरी दर्ता हुनासाथ राजीनामा दिने सहमति गर्न सक्छौं? हैन, गृहमन्त्रीबाट चाहिँ हटाऊ, मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दछु’, उनले भने।
रास्वपा पार्टी फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ या छैन भन्ने कुरा स्वयम् प्रतिपक्षी दलका माननीयज्यूहरुले बुझ्नुपर्ने प्रधानमन्त्रीले दाहालले जिकिर गरे।
