काठमाडौं, कात्तिक ३ / राजधानीमा जारी प्रधानसेनापति अन्तर्रराष्ट्रिय महिला फुटवलको उपाधि विभागिय टोली त्रिभुवन आर्मी महिला टिमले जितेको छ। जंगी अड्डास्थित खेल मैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी महिला फुटवल टिमलाई सडन डेथमा हराउँदै उपाधि उचालेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १/१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेलको निर्णय हुन ट्राइब्रेकरमा पुगेको थियो। ट्राई ब्रेकरमा फेरि दुबै टिमले ३–३ गोल गरेकोले खेलको निर्णय सडन डेथबाट गरिएको हो।
प्रधानसेनापति गौरव शम्शेर ज.ब.राले विजयी हुने त्रिभुवन आर्मी महिला फुटवल टिमलाई नगद तीन लाखसहित ट्रफी प्रदान गरेका थिए।
यस्तै प्रतियोगितामा उत्कृट चार बिधाका खेलाडीहरु मध्ये गोलकिपरमा सशस्त्र प्रहरी महिला फुटवल टिमकी अन्जीला तुम्बापो, डिफेन्डरमा सशस्त्र प्रहरी महिला फुटवल टिमकी मनमाया लिम्बु, मिडफिल्डरमा त्रिभुवन आर्मी महिला फुटवल टिमकी दिपा राई, फर्वार्डमा त्रिभुवन आर्मी महिला टिमकी अन्चली वाईवा र उत्कृष्ट प्रशिक्षकमा त्रिभुवन आर्मी महिला फुटवल टिमका रमेश महर्जनलाई जनही १० हजार र प्रमाण पत्र पाएका थिए।
साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी महिला फुटवल टिमकी कृष्णा खत्रीले स्कुटर पाएकी थिइन्। प्रतियोगितामा उप–विजेता भएकोे सशस्त्र प्रहरी महिला फुटवल टिमलाई बलाधिकृत रथी पवन वहादुर पाण्डेले नगद एक लाख ५० हजार प्रदान गरेका थिए।
यस्तै सेमिफाईनलमा पराजित दुबै टिमलाई पचास–पचास हजार प्रदान गरिएको थियो। नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा मित्रराष्ट्र भारतका महिला फुटवल टिम दुई, पाँचै विकास क्षेत्रका महिला फुटवल टिम ५ लगायत विभागीय टिमहरु त्रिभुवन आर्मी महिला फुटवल टिम, नेपाल प्रहरी महिला फुटवल टिम र सशस्त्र प्रहरी महिला फुटवल टिम गरी कुल १० टिम सहभागी थिए।
