गणेश थापाद्वारा दुई महिना काम नगर्ने घोषणा

Share:

काठमाडौं, असोज ३ /अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले २ महिनाका लागि अध्यक्षको पद छाडेको घोषणा गर्नुभएको छ । दुई दशकदेखि एन्फाको नेतृत्व गर्दै आएका गणेश थापाले भ्रष्टाचार मुद्दामा अनुसन्धानबाट छुटकारा पाउने कुनै उपाय नभएपछि पदको माया मारे । एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै उनले नेपाली फुटवललाई दुर्घटनाबाट जोगाउन आफूले गम्भीर निर्णय गरेको भन्दै कार्यवाहक अध्यक्षमा ललितकृष्ण श्रेष्ठको नाम घोषणा गरेका छन्।

एन्फा केन्द्रीय समिति बैठकको हवाला दिँदै थापाले उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक बनाएको बताएका छन्। सार्वजनिक लेखा समितिको अनुसन्धान र निर्देशन अनुसार पद त्याग्न बाध्य थापाले एन्फामा आफ्नो बर्चस्व कायमै राख्न श्रेष्ठलाई ल्याएको बुझाई जानकारहरुको छ।

ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एन्फामा ५८ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थापासँगै उपाध्यक्ष श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र कोषाध्यक्ष विराटजंग शाहीलाई निलम्वन गरि कारबाही गर्न निर्देशन दिएको थियो। सुरुमा समितिको निर्णय अनुसार पद छाड्न आनाकानी गर्दै आएपछि सरकारले निलम्बनका लागि पहल थालेपछि थापा पछि हटनु भएको हो । त्यस्तै कोषाध्यक्ष शाहीले गरिरहेको काम अब सहकोषाध्यक्ष रबिन्द्र जोशीले गर्ने पनि थापाले बताउनुभयो ।

लेखा समितिलाई चुनौती दिँदै थापाले श्रेष्ठलाई कार्यवाहक दिएर ‘टेस्ट’ गरेका छन्। उपाध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार यो थापाको अर्को ‘मनपरि’ हो। ‘एन्फा कार्यसमिति बैठक बसेको मलाई थाहा छैन,’ शेर्पाले भने, ‘त्यो भन्दा ठूलो कुरा गणेश थापासँगै कारबाही गर्न भनिएका व्यक्ति कसरी कार्यवाहक हन सक्छन्?’

श्रेष्ठ थापासँगै दुई दशकअघि एन्फामा आवद्व भएका हुन्। एन्फा अध्यक्षसँग निकटस्थ मानिने उनी थापा मुछिएका अधिकांश विवादमा जोडिएका छन्। ‘थापालाई लाग्ने विष उनलाई किन लागेन?,’ श्रेष्ठलाई च्यापिएकोमा असन्तुष्ट एक पदाधिकारीले भने
अध्यक्ष गणेश थापालाई भ्रष्टाचार मुद्दामा कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई निर्देशन दिएको थियो । लेखा समितिले एन्फामा अनियमितता भएको बारेमा भइरहेको छानविनमा असर पर्न सक्ने भन्दै थापा र श्रेष्ठ सहितका पदाधिकारीलाई निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

पत्रकार सम्मेलनमा थापाले भन्नुभयो ‘हामीले २ महिनाका लागि पद छाडेको व्यहोरा जानकारी राष्ट्रिय खेलकुद परिषदलाई गराई सकेका छौं ।’

कमेन्ट गर्नुहोस्
Share: