पोखरालाई चुनौती बन्दै सडक र श्रमिक बालबालिका

Share:

अनुप पौडेल । पर्यटकीय राजधानी पोखराका मुख्य चोकका सडकमा हिँड्दा धेरैले एउटा समस्या भोग्ने गर्छन् । त्यो हो बालबालिकाले पैसा माग्ने अनि निकै बेर पछि लाग्ने । उनीहरु निकै बेरसम्म पछि लाग्छन् र अन्त्यमा केहि उपाय नलागेपछि फर्किन्छन् ।

उनीहरुको दिनचर्या यसरी नै बितिरहेको हुन्छ । तर, अहिले पोखरालाई ती बालबालिका चुनौतीको रुपमा देखा परेका छन् । पोखरा महानगर नीतिगत रुपमा अगाडि नबढ्दा यो समस्या विकरल बन्दै गएको छ ।

सडक बालबालिकाको मात्र होइन बाल श्रमको समस्या पनि पोखराले झेलिरहेको छ । आफ्नो कार्यकाल सकिँदासम्म पोखरालाई स्मार्ट सिटी बनाउने योजना मेयर मान बहादुर जिसीले बेलाबखत सुनाइरहन्छन् ।

पोखरामा देखिएका बालबालिकाका समस्याले अब यो अभियानमा बाधा पुग्ने अनुमान लगाउन सकिन्छ । पोखरामा सडक बालबालिका, बाल श्रम, बाल हिंसाको समस्या विकरल छ । बालबालिकाकाको क्षेत्रमा देखिएका समस्या समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने पोखरा महानगरसँग कुनै योजना पनि छैन्।

यी समस्या हेर्दा पोखरालाई २०१९ सम्म बालमैत्री सहर बनाउने पूर्वघोषित कार्यक्रम पूरा नहुने प्रष्ट हुन्छ । पोखरामा कति बालबालिका श्रममा छन् र कति सडकमा छन् भन्ने यथेष्ट तथ्यांक पनि छैन् ।

पोखरामा रहेका यस्ता बालबालिका धेरै भारतीय रहेको अध्ययनले देखाएका छन् । ३३ प्रतिशत मध्ये ३० प्रतिशत बालबालिका भारतीय रहेको पाइएको छ । तीनै भारतीय बालबालिका अहिले पोखरालाई चुनौती बन्दै छन् ।

पोखरामा भेटिने भारतीय बालबालिका अधिकांश विहारबाट आएको पाइन्छ । उनीहरु एकै ठाउँमा स्थिर पनि रहँदैनन् ।

पोखरामा ३६८ जना श्रमिक बालबालिका

तथ्यांक अनुसार पोखरामा अहिले ३६८ जना श्रमिक बालबालिका रहेका छन् । यसमा बालकको सङख्या २५४ र बालिकाको सङख्या ११४ रहेको छ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमको तथ्यांकअनुसार यीमध्ये ग्यारेज तथा वर्कसपमा काम गर्ने धरै छन् ।

३६८ मध्ये ३९ प्रतिशत (१४४ जना) ग्यारेज तथा वर्कसपमा काम गर्छन् । होटल रेष्टुरेन्टमा २८ प्रतिशत (१०३ जना), घरेलु श्रमिक २६ प्रतिशत (९६ जना), व्यवसायमा ७ प्रतिशत (२५ जना) ले काम गरिरहेको तथ्यांकले देखाउँछ ।

पोखराका मुख्य बजार क्षेत्रमा धेरै श्रमिक बालबालिका भेटिने गरेको बालश्रम न्यूनिकरण कार्यक्रमकी संयोजक प्रिति पाण्डे बताउँछिन् । उनकाअनुसार ग्रामिण भेगमा भने सहरी भेगको तुलनामा यस्ता बालबालिका कम भेटिन्छन् ।

ग्यारेज तथा वर्कसप धेरै भएका वडा नम्बर ९, १४, १७ लगायतका वडामा श्रमिक बालबालिका धेरै रहेको आफूहरुले आयोजना गर्ने कार्यशालामा भेटिने गरेको संयोजक पाण्डेको भनाइ छ । पोखरामा अहिले वडा नं ३ श्रमिक बालबालिकामुक्त वडा घोषणा भइसकेको छ ।

७९ जना सडक बालबालिका

पोखरामा ७९ जना सडक बालबालिका रहेको महानगर र सिविनको समन्वयमा अध्यावधिक गरिएको तथ्यांकले देखाउँछ । यसमा बालकको सङख्या धेरै छ । यीमध्ये ७२ जना बालक र ७ जना बालिका छन् ।

उमेर अनुसार हेर्दा सबैभन्दा धेरै ११ देखि १४ वर्षसम्मका ३१ जना बालबालिका छन् । त्यसपछि १५ देखि १८ वर्षसम्मका २९ र ६ देखि १० वर्षसम्मका २० बालबालिका पोखरामा छन् ।

कहिले घट्ने, कहिले बढ्ने

तथ्यांकमा यस्तो देखिएपनि यो सङख्या परिवर्तन भइरहन्छ । कति बुबाआमा भएर पनि सडकमा भौतारिन्छन् । कसैको बुबाआमाले नै माग्न पठाउँछन् । कति बुबाआमाबाट टाढा भएर सडकमा आउने पनि छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भनेका थिए, ‘सडक बालबालिका भनिएकाहरु दिनभर सडकमा डुल्छन् अनि बेलुका भएपछि आमाबुबासँग पुग्छन्, यसले पनि हामीलाई चुनौती थपेको छ ।’

सोही कार्यक्रममा बोल्ने धेरैले यस्ता समस्या व्यवस्थापनका लागि सक्रिय भएर अगाडि बढ्न महानगरपालिकालाई सुझाव दिएका थिए ।

महानगर भन्छ- पर्यटनमा असर पुग्यो, सिमानामा नै कडाइ गर्नुपर्छ

पोखरामा भारतीय बालबालिकाको बिगबिगी बारे महानगरपालिका नियन्त्रणका लागि सिमा नाकामा कडाइ गर्नुपर्ने बताउँछ।

नेपाल-भारत सिमा नाकामा नेपाल प्रवेश गर्ने विषयलाई कडाइ गर्न सके यसलाई समाधान गर्न सकिने महानगरका प्रवक्ता धनबहादुर नेपालीको भनाई छ ।

‘यसले पोखराको पर्यटनमा पनि असर पुगेको छ, प्रवक्ता नेपालीले भने, ‘तेस्रो मुलुकबाट आउने पर्यटकलाई यी बालबालिका नेपाल कै हुन् भन्ने लाग्छ अनि त्यसले पोखरेली पर्यटनका बारेमा नकारात्मक सन्देश गएको छ ।’

कति समय र केका लागि नेपाल आउन लागेको हो भन्ने विषयमा पनि ध्यान दिनुपर्ने नेपालीले बताए । चालू आर्थिक वर्षमा वडाको प्रोफाइल बनाएर अगाडि बढ्ने महानगरको योजना छ ।

प्रोफाइल तयार भएपछि बालबालिकाको यथार्थ तथ्यांक बाहिर आउने छ । त्यसपछि बढिरहेको सडक र श्रमिक बालबालिकाको समस्या नियन्त्रणमा सहज हुनेछ ।

एक वर्षमा ३५ जनाको उद्धार

गएको आर्थिक वर्ष देखि यस आर्थिक वर्षको साउन पहिलो हप्तासम्म पोखराबाट ३४ जना बालबालिकाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा वेवारिसे, अभिभावकविहिन, हिंसापीडित, सडक र श्रमिक बालबालिका छन् । उद्धार गरिएकालाई अहिले पाखराका ८ वटा बालगृहमा राखिएको छ ।

उद्धार गरिएका बालकको साथमा संयोजक पाण्डे

थ्री एन्जल्समा ८, शक्ति समूहमा ३, समन्वय नेपालमा ५, हिमाली बालकल्याण मञ्चमा १, अन्नपूर्ण एशोसिएशनमा ४, असल छिमेकी नेपाल, नवजीवन केन्द्रमा १, दयाको सेवा नेपालमा २ र दिदिबहिनी बालगृहमा २ जनाको पुर्नस्थापना गरिएको हो । यसबाहेक गएको १५ दिनमा उद्धार गरिएका अन्यलाई परिवारको साथमा फर्काइएको छ । केहिलाई बालगृहमा राख्ने तयारी गरिँदै छ ।

‘बानी सुधार्न परामर्शको खाँचो’

उद्धार गरेर बालगृहमा राखेपछि त्यहाँबाट बालबालिका भाग्ने गरेको पनि पाइन्छ । बाल हितकारी परियोजना नेपालकी कार्यक्रम संयोजक निमा गरुङका अनुसार वातावरण नमिल्दा उद्धार गरिएका बालबालिका त्यहाँबाट भाग्ने गर्छन् । उनी भन्छिन्, ‘पर्याप्त परामर्शा नभएर वातावरण मिल्दैन अनि उनीहरु भाग्छन् ।’

उद्धारपछि भाग्ने श्रमिक बालबालिका रोजगारदाताकोमा पुग्छन् । सडकबाट उद्धार गरिएका भने सडकमा नै भेटिन्छन् । सडकबाट उद्धार गरिएकाहरु अधिकांश कुलतमा फसेका हन्छन् । उद्धारपछि बालगृहमा राखिएका उनीहरुको कुलत छुटेको हँदैन । कुलत नछुटेपछि त्यसको लतमा फसेकाहरु भाग्छन् । त्यसैले पोखरामा यस्ता बालबालिकाका लागि परामर्शा केन्द्रको आवश्यकता देखिएको छ ।

यो पनि : अनिश्चित बन्दै ‘बालमैत्री पाेखरा’ (अडियो)

कमेन्ट गर्नुहोस्
Share: