
अकृजा पोखरेल
साइप्रस यूरोपियन मुलुक हो । टर्कीको दक्षिण र सिरिया अनि लेबनानको दक्षिणतर्फ पर्ने यो टापु भुमध्ये सागर क्षेत्रको सबैभन्दा धेरै मानिसहरु बस्ने टापुहरुमध्येमा तेस्रो नम्बरमा पर्छ । प्राकृतिक रुपमा सुन्दर यो मुलुक यूरोपियन युनियनको सदस्य राष्ट्र हो । पर्यटकहरुको रोजाईमा पर्ने यो मुलुकमा विश्वभरका उत्कृष्ट बिजनेश हाउसहरु पनि रहेका छन् ।
पर्यटकीय मुलुक भएकै कारणले यहाँ होटल र रेस्टुरेन्टहरु अत्याधिक छन् । समुन्द्रको छेऊमा बसेर यहाँको दृश्यवलोकन गर्नकै लागि साइप्रसमा थुप्रै पर्यटकहरु आउने गर्छन् । र, पछिल्लो समय यो टापु वैदेशिक अध्ययनका लागि विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।
खासगरि साइप्रसमा यतिका धेरै विद्यार्थीहरुको आकर्षण बढ्नुमा के छ कारण ? यही विषयमा हामी चर्चा गर्नेछौँ ।
यसका केही मूख्य कारणहरु छन् । एक त यहाँ यूरोपियन स्टान्डर्डको अध्यापन गराईन्छ । र, अर्को कुरा हो, यहाँको बसाँईदेखि लिएर पढाई खर्च पनि अन्य देशको तुलनामा धेरै कम छ । यदि एउटै विषय र उस्तै प्रकृतिको पाठ्यक्रम उही सेवा सुविधासहित अन्यत्रभन्दा सस्तोमा पढ्न पाईन्छ भने विद्यार्थीहरुले साइप्रसलाई किन नरोज्ने त ?
अब हामी नेपाली परिवेशसँग जोडिएर पनि हेरौँ । वास्तवमा नेपालबाट विदेश अध्ययन गर्न जाने भनेको आर्थिक रुपमा उच्च वर्गका छोराछोरी नै हुन् । नत्र भने यहाँको सामान्य परिवारले आफ्नो छोरोछोरी विदेशमा पढेको खर्च थेग्न निकै मुश्किल छ ।
तर पढाईसँगै केही काम पनि गर्न पाउने र आफ्नो खर्च आफैँ जुटाउन सक्ने भएपछि विद्यार्थीहरुको विदेश अध्ययन मोह निकै बढेको हो । यदि विदेशमा पढ्न जाने विद्यार्थीले पार्टटाइम जब नपाउँदो हुन् त वैदेशिक अध्ययनप्रति उनीहरुको आकर्षण हुने थिएन होला । उनीहरुमा भएपनि उनीहरुको अभिभावकमा हुने थिएन । कारण, यहाँबाट खर्च धान्ने गरि आफ्नो छोराछोरीलाई विदेश पढाउन सक्ने हैसियत भएका मानिसहरु नेपालमा औँलामा गन्न सकिने मात्रै छन् ।
साइप्रस नै किन त ?
अहिले विद्यार्थीहरु अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, यूरोपका विभिन्न मुलुकहरुमा अत्याधिक जान खोज्छन् । र, गैरहेका पनि छन् । यद्यपि कतिपय सवालमा यस्ता मुलुकहरु पनि विद्यार्थीका लागि निकै महँगो पर्छन् । अन्तराष्ट्रियस्तरको कलेज तथा यूनिभर्सिटीमा पढ्न मन छ तर त्यस्ता मुलुकमा जानका लागि विद्यार्थीको परिवारले अफोर्ड नगर्न सक्छ । यस्तोमा साइप्रस सबैभन्दा गज्जबको विकल्प हुन सक्छ । कारण, साइप्रसमा अध्ययनका लागि जाने विद्यार्थीहरुले अन्य मुलुकको तुलनामा धेरै कम शुल्क तिर्नुपर्ने हुन्छ । सँगसँगै हरेक अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि साइप्रसले दोस्रो वर्ष (तेस्रो सेमेस्टर)देखि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्छ । यो विद्यार्थीहरुका लागि निकै गज्जबको कुरा हो ।
साइप्रसमा अध्ययन गर्न जाँदा विद्यार्थीले १ बर्षको अग्रिम शुल्क बुझाउनुपर्छ । र, दोस्रो वर्षबाट ५० प्रतिशत शुल्क छात्रवृत्तिमा पाउँछन् । यसो गर्दा सामान्य आर्थिक अवस्था भएको परिवारले पनि नेपालबाटै खर्च धान्न सक्ने शुल्क त्यहाँको कलेज तथा यूनिभर्सिटीलाई बुझाउनुपर्छ । यसो गर्दा विद्यार्थी र अभिभावकलाई दबाब महशुस हुँदैन ।
अर्को गज्जबको कुरा के छ भने विद्यार्थीहरुले साइप्रसमा प्रति हप्ता ३६ घण्टाको दरले पार्टटाइम जब गर्न पाउने व्यवस्था छ । अन्य मुलुकमा विद्यार्थी भिसामा गएकाहरुका लागि २० घण्टा मात्र काम गर्न पाउने व्यवस्था हुन्छ । र, प्रत्येक हप्ता १६ घण्टा आधिकारिक रुपमा बढि काम गर्न पाउँदा विद्यार्थीहरुले कमाई पनि धेरै गर्न सक्छन् । र, नेपाल जस्तो मुलुकबाट वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि यो अझै सुन्दर कुरा हो ।
कम शैक्षिक शुल्कमा यूरोपियन स्टान्डर्डको पढाई, सस्तो बसाँई र धेरै समय काम गर्न पाउने भएका कारणले विद्यार्थीहरुले साइप्रसलाई आफ्नो अध्ययन डेस्टिनेशन बनाउँदा पछुताउनु पर्दैन ।
साइप्रसका कलेज तथा यूनिभर्सिटी र पढाईने विषयहरु :
विश्व बजारमा अहिले अत्याधिक मागमा रहेका प्राय सबै विषयहरु साइप्रसका कलेज तथा यूनिभर्सिटीहरुमा उपलब्ध छन् । साइप्रसमा थुप्रै अमेरिकन कलेजहरु पनि छन् । जहाँ सोही देशका यूनिभर्सिटीहरुकै स्टान्डर्डमा अध्यापन गराईन्छ ।
नर्सिङ, होटल म्यानेजमेन्ट, टुर्स एण्ड ट्राभल, बिजनेश स्टडीज, फेशन डिजाइनिङ, आइटी, समाजशास्त्र जस्ता विषय साइप्रसका कलेज तथा यूनिभर्सिटीहरुमा पढाईन्छ ।
साइप्रसका कलेज तथा यूनिभर्सिटीहरुबाट यूरोपियन अन्य मुलुकसँगै अष्ट्रेलिया, न्यूजिल्याण्ड, क्यानडा, अमेरिकाजस्ता मुलुकका कलेज÷यूनिभर्सिटीहरुमा क्रेडिट ट्रान्सफरको सुविधा पनि विद्यार्थीले लिन पाउँछन् । क्रेडिट ट्रान्सफरको सुविधाले विद्यार्थीहरुलाई अझै बढि सुविधा थपेको छ ।
(लेखक पोखरा सृजनाचोकस्थित ज्ञान करिअर इन्स्टिच्यूटकी संचालक हुन् ।)

