आहा ! रारा गोल्डकपको उपाधि जित्ने दुवै टोलीको अठोट, यस्तो छ हेड टु हेड

Share:

अनिष भट्टराई, पोखरा । १८ औँ संस्करणको आहा ! रारा गोल्डकपको फाइनल शनिबार हुँदैछ । शनिबार हुने फाइनलमा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् ।

मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा गरेको हो । क्वाटरफाइनलमा झापा–११ लाई मनाङले १–० पाखा लगायो ।

यता नेपाल पुलिस क्लबले सेमिफाइनलमा थ्री स्टार क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । पुलिसले सहारा क्लब पोखरालाई क्वाटरफाइनलमा टाइ–ब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

मनाङ र पुलिस यस सिजनमा दुई पटक आमने–सामने भएका छन् । ‘ए’ डिभिजन लिगमा र बुढासुब्बा गोल्डकपमा मनाङ र पुलिस एक अर्का विरुद्ध भिडेका थिए । ‘ए’ डिभिजन लिगमा भएको खेलमा मनाङले पुलिसलाई १–० ले पराजित गरेको थियो ।

यस्तै बुढासुब्बा गोल्डकपमा समेत यी दुई टोली फाइनल खेलेका थिए । उक्त खेलमा मनाङले उत्कृष्ट खेल खेल्दै पुलिसलाई ३–१ ले पराजित गरेको थियो ।

आहा ! रारा गोल्डकपमा मनाङ र पुलिस एक अर्का भन्दा सफल क्लब बन्न चाहन्छन् । मनाङ र पुलिुसले यस प्रतियोगितामा समान ५–५ पटक उपाधि उचालेका छन् ।

यस्तो छ आहा ! रारामा दुई टोलीको हेड–टु–हेडः
मनाङ र पुलिस यस प्रतियोगिता १८ औँ संस्करणसम्म आइपुग्दा ७ पटक भेट भएका छन् । ती ७ भेटमध्ये पहिलो ३ भेट फाइनलमा भएको हो । यस्तै २ पटक सेमिफाइनलमा यी दुई टोली आमने सामने भएका छन् भने २ पटक क्वाटरफाइनलमा भेट भएका छन् ।

७ पटकको भेटमा मनाङले ४ जित हात पार्दा पुलिसले ३ पटक विजयी हात पारेको थियो ।  यी दुई टोली पहिलो क्याराभान कप २०५८ मा भेट भएका थिए । फाइनलमा पुलिसले मनाङमाथि २–१ को जित हात पारेको थियो ।

त्यसपश्चात् मनाङ र पुलिस दोस्रो संस्करणको आहा रारा गोल्डकपमा फाइनलमा खेलेका थिए । उक्त खेलमा मनाङले पुलिसलाई ३–१ ले हराउँदै उपाधि चुम्न सक्यो ।

आहा राराको तेस्रो संस्करणमा समेत पुलिस र मनाङनै भिडेका थिए । त्यस खेलमा समेत मनाङले नेपाल पुलिसलाई हराएको थियो । उक्त खेलमा मनाङले पुलिसलाई ३–२ ले हराउँदै लगातार दुई पटक प्रतियोगिताको उपाधि जित्यो ।

८ औँ संस्करणमा मनाङ र पुलिसको सेमिफाइनलमा भेट भयो । त्यस खेलमा पुलिसले मनाङमाथि १–० को झिनो अन्तरको जित आत्मसात ग¥यो । १० औँ संस्करणमा क्वाटरफाइनलमा भएको खेलमा मनाङले पुलिसलाई १–० ले नै हराउन सक्यो ।

१२ औँ संस्करणमा पुलिसले मनाङ विरुद्ध निकै लज्जास्पद हार चाख्यो । सेमिफाइनलको खेलमा मनाङले पुलिसलाई ५–० ले पराजित गर्दै पुलिसलाई लज्जास्पद हार चखाएको थियो ।

अन्तिम पटक यी दुई टोली १६ औँ संस्करणको क्वाटरफाइनलमा भेट भएका थिए । उक्त खेलमा पुलिसले मनाङमाथि ३–१ को जित दर्ता गरेको थियो ।

के भन्छन् प्रशिक्षक र कप्तान ः
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा आफ्नो टोलीले यस पटक उपाधि उचाल्ने बताउँछन् । आफ्नो टोलीमा सबै खेलाडी चोटमुक्त रहेको र आफुहरुले मनाङलाई हराउन उचित योजना बनाइसकेको बताउँछन् । युवा खेलाडीले भरिएको र खेलाडीहरुमा टिम स्पिरिट बढी भएकाले पुलिसले यस पटक आहा राराको उपाधि जित्नेमा आफु विश्वस्त रहेको थापा बताउँछन् ।

उनले मनाङले अहिले डिफेन्समा ध्यान दिएर काउन्टर एट्याक खेल खेलिरहेकाले मनाङलाई हराउनका लागि धेरै ‘लुप होल’ खोज्ने बताएका छन् ।

यस्तै पुलिसका कप्तान भरत शाहले आफुहरुले अहिले राम्रो फुटबल खेलिरहेको र फाइनलमा समेत राम्रो फुटबल खेल्ने बताउँछन् । यस्तै शाहले मनाङलाई समर्थकको साथ रहेपनि पुलिसले समेत राम्रो फुटबल खेलेर समर्थकलाई आफ्नो पक्षमा ल्याउने आशा व्यक्त गरेका छन् ।

यता मनाङका प्रशिक्षक आयोडेजी फुजा तोपे भने पुलिससँगको फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँछन् । प्रशिक्षक तोपेले आफ्नो टोलीले अरु खेलझैँ पुलिससँग पनि ‘सिरिएसनेस’ मा खेल्ने बताए । उनले एटाकिङ फुटबल खेल्दै जितका लागि मैदान उत्रने समेत सुनाए ।

फरक प्रसङ्गमा बोल्दै उनले नेपाली फुटबलमा प्रोफेसनालिजमको कमी रहेको बताए । उनले सम्बन्धित निकायको सहकार्यले यस समस्या पनि घट्दै जाने आशा जनाए ।

यस्तै मनाङका कप्तान कमल श्रेष्ठले मनाङका समर्थकलाई प्रतियोगिता जितेर खुशी पार्ने बताए । उनले प्रतियोगितामा मनाङलाई समर्थन गर्न समर्थकहरु धेरै टाढाबाट आउने भएकाले प्रतियोगिता जितेर आफ्ना समर्थकलाई खुशी पार्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले यस प्रतियोगितामा झापा र आर्मीलाई निकै राम्रो फुटबल खेलेर पराजित गरेकाले खेलाडीहरुमा मनोबल बढी रहेको समेत बताए । यस्तै यसअघिका भेटमा पुलिसलाई पराजित गर्न सकेकोले यस पटक पनि सहज जित हात पार्ने जनाएका छन् ।

सहारा क्लब पोखराको आयोजनामा चलिरहेको प्रतियोगितामा विजेताले १० लाख १ हजार रुपैँया पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख १ हजारमा चित्त बुझाउने छ ।

कमेन्ट गर्नुहोस्
Share: