
पोखरा । कास्की जिल्ला अदालतका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालयको टोलीले बुधबार साँझ ६ बजेको समयमा उनलाई उक्त रकमसहित रंगेहात पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार अदालतमा मुद्धा लडिरहेका व्यक्तिलाई गाडी फिर्ता गरिदिन्छु भन्दै उक्त रकम माग गरेको गुनासो कार्यालयमा आएको थियो । पस्र्याङचोकमा रकम लिँदै गर्दा पराजुलीलाई रंगेहात पक्राउ गरिएको रिजालले बिग एफएमलाई जानकारी दिए ।
एउटा मुद्धामा प्रहरीले गाडी सहित अदालतमा केस लगेको थियो । सो गाडी मुक्त गरिदिन्छु भन्दै उनले ति व्यक्तिसँग घुस मागेको बताइन्छ । उनलाई नियन्त्रणमा लिएर नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
