
रेम बिक
पोखरा, २६ असार । अत्याधिक बर्षाका कारण पानीको वहाव बढेपछि पोखरा १३ कमलपोखरी ताल नजिकको बस्ती डुवानमा परेको छ। डुवानका कारण बस्तीमा रहेका करिब २० वटा घर प्रभावित भएका छन्।
बस्ती डुवानमा पर्दा मानिसहरु घरबाट निस्कन सकेका छैनन्।सबैजसो घरको भुँई तलामा बाढी पसेको छ।
विभिन्न स्थानबाट आएएको भेल र बर्षाका कारण फुटेका मुलहरु एकत्रित भएर कमलपोखरीमा झरेपछि पानीको वहाव बढेको पोखरा महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले जानकारी दिए। जमिनको सतह होचो भएको र कमलपोखरी तालबाट निस्कने पानीको निकास पनि नभएकोले वस्ती डुवानमा परेको उनले बताए।
पछिल्लो समय यो क्षेत्रमा आवासीय घरहरुको निर्माण तिव्र छ। र, घरहरु निर्माण बढेसँगै जोखिम झन् बढेको छ। त्यसो त यहाँ यसअघिका बर्षहरुमा पनि बर्षातको समयमा बाढी थुनिएर ताल पर्ने गरेको स्थानिय बताउँछन्। यद्यपि यो पटक पानी धेरै थुप्रिएको र बढि प्रभावित बनाएको स्थानियको भनाई छ।

