
पोखरा । गण्डकी प्रदेशमा मंगलबार (आज) थप एक कोरोना संक्रमितको मृत्यु भएको छ भने १२७ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालय गण्डकीले आज ५ पटकसम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचाररत पोखरा महानगरपालिका–२२ का ४४ बर्षीय पुरुषको मंगलबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
ती पुरुषमा सोमबार मात्रै कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड–१९ सहित न्यूमोनिया, श्वासप्रश्वास सम्बन्धि समस्या रहेको थियो ।
यसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।
यसैगरी आज कास्कीमा ७६ जना सहित प्रदेशमा १२७ जना संक्रमित थपिएका छन् ।
निर्देशनालयका अनुसार कास्कीमा थपिएका ७६ संक्रमित मध्य ७५ जना पोखरा महानगरपालिकाका हुन् भने एक जना मोदी गाउँपालिकाका हुन् ।
यस्तै अन्य संक्रमितहरुमा गोरखा र लमजुङका १२/१२ जना, स्याङ्जा र नवलपुरका ८/८ जना, तनहुँका ५ जना, पर्वतका ४ जना र बाग्लुङका २ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८७ पुगेको छ ।
