
पोखरा । शुक्रबार (आज) कास्कीका ७१ सहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ५ जिल्लाका ८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका मात्रै ७१ जना रहेका छन् । जसमध्ये पोखरा महानगरपालिकाका ७० जना हुन् भने एक जना मादी गाउँपालिकाका हुन् ।
यस्तै म्याग्दीका ९ जना, स्याङ्गजाका २ जना तथा बाग्लुङ र तनहुँका १/१ जना रहेका छन् ।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १२ हजार ४७९ पुगेको छ ।
यस्तै आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भइ चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नं. ८ की ६६ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।
गत २४ घण्टामा प्रदेशभर १३ जना संक्रमणमुक्त भएका छन् । यससँगै प्रदेशमा कोरोना निको हुनेको संख्या ७ हजार २९१ पुगेको छ ।
हाल प्रदेशमा ५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा १५६ जनाको नमुना परिक्षण भएको छ । हालसम्म प्रदेशमा १ लाख १० हजार ५९० जनाको नमुना परिक्षण भएको निर्देशनालयले जनाएको छ ।
