गण्डकीमा बुधबार थप ७ जनामा कोरोना पुष्टि, २६ संक्रमणमुक्त

Share:

पोखरा । गण्डकी प्रदेशमा आज बुधबार थप ७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका कास्की र बाग्लुङका जिल्लाका ७ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै ६ जना छन् भने बाग्लुङका एक जना रहेका छन् । कास्कीमा थपिएका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं. १५ का ३७, ३८ र ६५ वर्षीया महिला, वडा नं.२० की ४३ वर्षीया महिला, वडा नं.२४ का ३८ वर्षीय पुरुष, वडा नं.३१ का ३५ वर्षीय पुरुष र बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं.१ की ३३ वर्षीया महिलामा कोरोना संक्रमण भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार २४७ पुगेको छ ।

यसैगरी, गत २४ घण्टामा प्रदेशभरबाट थप २६ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकीमा कोरोना निको हुनेको संख्या १५ हजार ८९२ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०५ जनाले भने ज्यान गुमाइसकेका छन् ।

हाल प्रदेशभर १५० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा १२८ जना रहेका छन् ।

गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा ८८ नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ३३ हजार २५१ नमुना परिक्षण भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: