
पोखरा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम जटिल अवस्थामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै मन्त्रालयले बिहीबार अति प्रभावित १४ जिल्लाको सूची सार्वजनिक गर्दै सकभर विद्यालयसमेत नजान अनुरोध गरेको छ ।
काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङमा भिडभाड हुने सबै क्षेत्र तथा सेवा बन्द गर्नुपर्ने अवस्था आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यी जिल्लाका विद्यालय, रात्रि व्यवसाय, रेस्टुरेन्ट तथा क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा–सम्मेलन, बैठक, भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, जस्ता भिडभाड हुने ठाउँमा सहभागी नहुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।
मन्त्रालयले सबै अस्पतालहरुलाई अनिर्वाय रुपमा फिवर क्लिनिक सञ्चालन गर्न आग्रह समेत गरेको छ । सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेडहरु कोभिड–१९ का संक्रमितका व्यवस्थापन गर्न छुट्याउन र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन पनि दिएको छ ।
मन्त्रालयले विदेशी पाहुनालाई पीसीआर नतिजा नेगेटिभ आएमात्रै होटलमा राख्न भनेको छ ।


