१५ करोड लागतमा शान्ति निकेतनले सुविधायुक्त ५ तले भवन बनाउँदै, शिलान्यास आज

Share:

पोखरा। शान्ति निकेतन स्कुलले  नयाँ अत्याधुनिक भवनको शिलान्यास गरेकाे छ।  विद्यालयका संस्थापक प्राचार्य डाक्टर महेश्वर पराजुलीले साेमबार पत्रकार सम्मेलनमा नयाँ भवन शिलान्यास र विद्यालयको २० वर्षको गौरवमय शैक्षिक यात्राबारे जानकारी दिए।

विद्यालयको स्थापना २०६२ सालमा गरिएको थियो र आज हामी गर्वका साथ भन्न सक्छौं कि शान्ति निकेतनले पोखरा क्षेत्रका साढे दुई सय विद्यालयमध्ये विभिन्न परीक्षामा उत्कृष्ट स्थान हासिल गरेको छ,´ उनले भने।

शान्ति निकेतन स्कुलको नयाँ भवन बागलुङ राजमार्गबाट १०० मिटरभित्र पोखरा- ५ को धारापानीमार्गमा निर्माण हुने जनाइएकाे छ। पूरानो भवनमा मन्टेश्वरी तहदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूका लागि पठनपाठन सञ्चालन भइरहेको छ भने नयाँ भवनमा कक्षा ४ देखि कक्षा १२ सम्म पठानपाठन गराउने उनले सुनाए।

उनले आगामी २०८३ सालदेखि कक्षा १२ सम्मको पाठ्यक्रम विस्तार गरिने सुनाए। नयाँ भवन निर्माणमा १५ करोड लगानी गर्ने योजनासहित ६० करोड बजारमूल्य बराबरको जग्गामा निर्माण कार्य सुरू गरिएको उनले सुनाए। भवन एक वर्ष भित्र पूर्ण निर्माण गर्न योजना बनाइएको उनले बताए।

पराजुलीले भने, ‘हामीले शुल्क वृद्धि नगर्ने र समय सापेक्ष शुल्क निर्धारण गर्ने प्रतिबद्धता जनाएका छौं। शान्ति निकेतनको नयाँ भवन अत्याधुनिक प्रविधिहरूसँग सम्पन्न हुने उनकाे विश्वास छ। नयाँ भवनमा अपांगता मैत्री सुविधाहरू, लिफ्ट, अण्डरग्राउण्ड पार्किङ, स्मार्ट क्लासरूम, डिजिटल उपकरणहरू, कम्प्युटर ल्याब, साइन्स ल्याब र वर्ल्ड क्लास डिजिटल लाइब्रेरीको व्यवस्था हुनेछ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भुर्त्यालले पनि विद्यालयका सबै प्रगतिको पक्षमा उल्लेख गर्दै सबैलाई शुभकामना दिएका छन्।  उनले नयाँ संरचनाले विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउने र भविष्यमा पेशागत हिसाबले सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शान्ति निकेतन स्कूल अघि बढ्ने बताए।

कमेन्ट गर्नुहोस्
Share: