मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभामा प्रत्यक्ष जवाफ दिने

Share:

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन्। गत साउन १५ गतेदेखि स्थगित भई आगामी भदौ १० गते दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकअन्तर्गत भदौ ११ गतेको बैठकमा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको प्रदेश सभाका सचिव गोविन्द पौडेलले जानकारी दिएका छन्।

संघीयता कार्यान्वयनपछि दोस्रो पटक हुन लागेको यो अभ्यास यसअघि २०८० साल भदौ ३ गते भएको थियो। मुख्यमन्त्रीभन्दा अघिल्लो कार्यकालमा भने यस्तो प्रश्नोत्तर हुन सकेको थिएन। ‘गण्डकी प्रदेश सभा नियमावली, २०८०’ को परिच्छेद ९ को नियम ५६ बमोजिम सरकारलाई संसद्प्रति उत्तरदायी र पारदर्शी बनाउन महिनाको एकपटक मुख्यमन्त्री तथा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने स्पष्ट व्यवस्था छ, यद्यपि यो अभ्यास निरन्तर हुन भने सकेको छैन।

नियमावली अनुसार सांसदहरूले प्रदेशको नीति, आयोजना, सुशासन तथा विकास निर्माणका विषयमा सोध्न चाहेका प्रश्न निश्चित समयअगावै सचिवालयमा लिखित रूपमा दर्ता गराउनुपर्छ भने मुख्यमन्त्रीको उत्तरपछि पूरक प्रश्न सोध्ने अधिकार पनि सांसदहरूलाई रहन्छ।

संसद्मा उभिएर प्रदेश सरकारको कामकारबाही र जनताका समस्याबारे प्रत्यक्ष सोध्न पाइने यो व्यवस्थाले कार्यपालिका र व्यवस्थापिकालाई जोड्नुका साथै सरकारलाई थप जिम्मेवार बनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: