
पोखरा। पोखराको जेठो र निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी तीव्र बनेको छ। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् भने वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र पूर्व महासचिव अर्जुन पोखरेल स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्।
विभिन्न पदमध्ये यस पटक उद्योगतर्फको उपाध्यक्ष पदमा हुने प्रतिस्पर्धालाई निकै रोचक र चासोका साथ हेरिएको छ। उद्योगतर्फ उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका ललित बहादुर कुँवर र सौगात थापा दुवै जना वर्तमान गोकर्ण कार्की नेतृत्वको कार्यसमितिका निर्वाचित सदस्य हुन्। यसअघि पवन प्रजापति नेतृत्वको कार्यसमितिमा मनोनित भएर विभिन्न जिम्मेवारी सम्हालिसकेका दुवै उद्यमीको व्यावसायिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमि समेत मिल्दोजुल्दो छ।
कुँवर होटल लुना, लालुपाते कृषि फर्म र आभास ट्रेडर्स जस्ता प्रतिष्ठान सञ्चालन गर्दै होटल, कृषि र रियलस्टेट क्षेत्रमा सक्रिय सरल एवं मिलनसार युवा व्यवसायीका रूपमा परिचित छन्। उनी शीतल चौतारी लायन्स र विभिन्न सहकारी संस्थामा पनि आबद्ध छन्। अर्कोतर्फ, थापा पनि होटल बगैँचा, अंशुभरा ग्रुप, पोखरा ट्रेड मल लगायतका व्यापारिक प्रतिष्ठान र युवा उद्यमी मञ्चमार्फत आतिथ्य, पर्यटन तथा रियलस्टेट व्यवसायमा संलग्न छन्।
क्षेत्री समुदायका दुवै उम्मेदवार राजनीतिक रूपमा नेपाली कांग्रेससँग निकट मानिन्छन्। कुँवर वडा तहको संगठन र भ्रातृ संस्थामा आफ्नै सक्रियताका कारण राजनीतिमा चिनिएका हुन् भने थापालाई पूर्व अध्यक्ष तथा पूर्व मन्त्री बुबा विन्दु कुमार थापाको पारिवारिक राजनीतिक पृष्ठभूमिको साथ रहेको छ। उम्मेदवारी चयनका क्रममा आचार्य प्यानलबाट स्थान नपाएपछि सौगात थापा अन्तिम समयमा शोभा गौतमको प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनेका हुन् भने कुँवरले सुरुमै बलराम आचार्यको प्यानलबाट सामूहिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए।
अघिल्लो महाधिवेशनमा १० जना सदस्यका लागि भएको निर्वाचनमा कुँवरले सर्वाधिक १ हजार ५ सय ३९ मत ल्याएर पहिलो स्थान हासिल गरेका थिए भने थापा १ हजार ४ सय ९४ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका थिए। यस पटक यी दुई युवा व्यवसायीबिच सीधा प्रतिस्पर्धा हुने भएकाले मतदाता व्यवसायीहरूले उनीहरूको कार्यसम्पादन, संस्थाप्रतिको सक्रियता र योगदानको मूल्यांकन गर्ने देखिन्छ।
संघले सार्वजनिक गरेको दुई वर्षे कार्यकालको आधिकारिक विवरण अनुसार ३१ वटा कार्यसमिति बैठकमध्ये ललित कुँवरको उपस्थिति २५ वटा (८० प्रतिशत) रहेको छ भने सौगात थापाको उपस्थिति ५ वटा (१६ प्रतिशत) मात्र छ। त्यसैगरी, संघद्वारा आयोजित ९५ वटा कार्यक्रमहरूमा कुँवरले ४५ वटा (४७ प्रतिशत) कार्यक्रममा सहभागिता जनाएका छन् भने थापाले ४ वटा (५ प्रतिशतभन्दा कम) कार्यक्रममा मात्र उपस्थिति जनाएका छन्। चुनावी मैदानमा सीधा आमनेसामने भएका दुवै उम्मेदवार आ-आफ्नो एजेन्डा र पूर्व योगदानसहित मतदाता व्यवसायीहरूलाई रिझाउन व्यस्त छन्।

