
कास्की : हिन्दुहरूको महान चाड दसैँको अवसरमा पोखरामा छैटौँ सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका-१४ स्थित मझेरीपाटनमा मेरो नेपाल युवा क्लबको आयोजनामा असोज १९ गतेदेखि प्रतियोगिता हुने भएको हो।
क्लबका अध्यक्ष एकेन्द्र कुँवरका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार २ लाख १ हजार १ सय ११ रुपैयाँ रहेको छ। यस्तै, द्वितीय पुरस्कार १ लाख १ हजार एक सय ११ छ भने प्रतियोगितामा हाई स्कोर ल्याउनेलाई ५ हजार, उत्कृष्ट डिफेन्डरलाई ५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृष्ट गोलकिपरलाई ५ हजार र अनुशासित टिमलाई ९ हजार पुरस्कार दिइने छ।
क्लबका अध्यक्ष कुँवरले टिम दर्ताका लागि ९ हजार रुपैयाँ रहेको जानकारी दिए। टिम दर्ता गर्ने अन्तिम मिति असोज १७ गतेसम्म राखिएको र हालसम्म झण्डै एक दर्जन टिम दर्ता भइसकेका अध्यक्ष कुँवरले बिगखबरलाई जानकारी दिए।
प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको क्लबले यो प्रतियोगिता पोखरामा हालसम्म को सबैभन्दा ठूलो पुरस्कार राशी भएको दाबी गरेको छ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डटकमले गर्ने कुँवरले बताए।
गोल नेपाल विगत केही श्रृंखलादेखि सो वार्षिक इभेन्टमा जोडिएको हो।
