
पोखरा। बागलुङका ग्रामीण सडक सञ्चालनमा नआउँदा स्थानीयहरुले सास्ती खेप्नुपरेको छ। वर्षाका कारण गत असारदेखि अवरुद्ध भएका सडक दसैँमा पनि सञ्चालन नहुँदा सामान ढुवानी तथा यात्रा गर्न कठिन भएको हो ।
जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, बडिगाड गाउँपालिकासहित १० वटै पालिकाका ग्रामीण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्।
दसैँअगावै सबै सडक सञ्चालन गर्ने भनिए पनि अविरल वर्षाका कारण खुलाउन नसकिएको निसीखोला गाउँपालिकाले जनाएको छ।
यहाँका मुख्यमुख्य सडक सञ्चालन भए पनि केही सडक चाँडै खुलाउने तयारी भइरहेको बताइएको छ।
बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले दसैँअघिको वर्षाले बडिगाडमा ठुलो क्षति पुर्याएको हुँदा वडा ९ र १० का विभिन्न स्थानका सडक सञ्चालन गर्न नसकिएको बताइन्।
पालिकाले वर्षात्का कारण अवरुद्ध सडक खुलाउनका लागि रु ६० लाख विनियोजन गरे पनि त्यसले केही ठाउँका सडक मात्र सञ्चालनमा गर्न सकिएको उनको भनाइ छ।
गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँगाउँ, मालारानी, आरुपाटा, निगलपानी पुग्ने सडक पूर्ण रूपमा ठप्प भएको अध्यक्ष अधिकारीको भनाइ छ।
दसैँमा गाउँमा मोटरबाटो सञ्चालन नहुँदा बोकेरै सामान ढुवानी गर्नुपरेको स्थानीयले बताएका छन् ।
