चल्न थाले सार्वजनिक बस

Share:

काठमाडौं । यातायात व्यवसायीले आन्दोलनको कार्यक्रम फिर्ता लिएसँगै सार्वजनिक यातायात पुन सञ्चालनमा आएको छ। मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको वार्तामा सहमति जुटेसँगै यातायात सञ्चालनमा आएको हो।

मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन्।

राइड शेयरिङ नियमावली खारेजीको माग गरेर यातायात व्यवसायीले जेठ १९ गतेदेखि देशभरि गुड्ने सार्वजनिक यातायात बन्द गरेका थिए।

काठमाडौं उपत्यकामा गुड्ने तथा उपत्यकाबाहिर जाने छोटो तथा लामो दूरीका सवारी साधनहरू सञ्चालनमा आएसँगै नयाँ बसपार्कमा यात्रुहरूकोचहलपहल बढेको छ।

सोमबार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि हिजाे सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्ने छ ।

सोमबार गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबीच पटक–पटक वार्ता पश्चात् सहमति भएको थियो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: