नेपालको इतिहासमा कालो दिन

Share:

२०८२ भदौ २३ गते सोमबार नेपाली इतिहासमा कालो दिन बन्यो। यस दिन सरकारले जेनजी (नयाँ पुस्ता) ले माग गरेका हक, अधिकार र स्वतन्त्रतालाई बेवास्ता गर्दै उनीहरूको छाती, टाउको र पेटमा बन्दुकको गोली प्रहार गरी बर्बरतापूर्वक हत्या गर्‍यो। कलिला अनुहारमाथि निरंकुश सरकारले तातो गोली घिसारेको यो कालो दिन हो। आफ्नो स्वतन्त्रता, अधिकार माग्न र भ्रष्टाचारविरुद्धको आवाज उठाउन पुगेका कलिला गुलाबहरूलाई फक्रिन नपाउँदै खुल्ला सडकमै सरकारले रगताम्मे पारेको दिन हो २०८२ भदौ २३।

निरंकुश सरकारको गोली खाएर १९ जनाको मृत्यु भएको छ। दर्जनौं गम्भीर घाइते छन् भने सयौं घाइतेहरू अस्पतालको बेडमा छट्पटाइरहेका छन्। चिकित्सकहरूका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान छ। अस्पतालका बेडमा घाइतेहरू बचाउ-बचाउ भन्दै गुहारको अपील गरिरहेका छन्। काठमाडौंका अस्पतालहरू भरिभराउ छन् र स्वास्थ्यकर्मीलाई उपचार गर्न भ्याइनभ्याई छ।

तर, सरकार अझै पनि निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ। राज्य आफैंले शान्ति क्षेत्र घोषणा गरेको अस्पताल परिसरमै पुगेर निरन्तर अश्रुग्यास र हवाई फायर गरिरहेको छ।

शान्तिपूर्ण ढंगले आफ्नो माग प्रस्तुत गर्न सडकमा उत्रिएका युवाहरूमाथि सरकार स्वयंको संरक्षक भूमिका छोडेर दमनकारी शक्तिको रूपमा प्रस्तुत भएको छ। यस तथ्यले लोकतन्त्र र मानवअधिकारको मर्यादालाई लज्जित मात्रै बनाएको छैन, एउटा निरंकुश शासकको पुष्टि पनि गरेको छ। यो केवल जेनजीको आन्दोलनमाथि भएको आक्रमण मात्रै होइन, यो सरकारको चरित्र र सोचाइको स्पष्ट प्रतिबिम्ब पनि हो।

युवा राष्ट्रको भविष्य हो भन्ने कुरा प्रत्येक राजनीतिक दलले भाषणमा दोहोर्याउने गर्छन्। तर, जब ती युवाहरू आफ्ना सवाल र मागहरु बोकेर सडकमा आउँछन्, त्यतिबेला त्यही दलहरूको नेतृत्वमा बनेको सरकार दमनको नाङ्गो रूप लिएर देखा पर्छ। यो रूप २०८२ भदौ २३ गते सोमबारको प्रदर्शनमा पनि देखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: