
पोखरा। तालतलैया, डाँडाकाँडा र हिमालका दृश्यले मात्रै होइन, साहसिक अनुभवले पनि पोखरा अहिले देश-विदेशका पर्यटकको मन जित्दैछ। ‘नेचर, कल्चर र एडभेन्चर’ यी तीन आधारले चिनिने पोखरा अहिले साहसिक पर्यटनको राजधानी बन्दै गएको छ।
हाल इनस्काइ स्काइडाइभ कम्पनीले सिम्रिक एयरसँग सहकार्यमा पोखरा-२३, लौरुकस्थित एभिया क्लबको मैदानबाट स्काइडाइभिङ सञ्चालन गरिरहेको छ। पोखराको पुरानो विमानस्थलबाट हेलिकप्टर उडेर १३ हजार फिट उचाइ पुगेपछि प्रशिक्षकको साथमा पर्यटकहरूले आकाशबाट हाम फाल्ने गर्छन्। यो रोमाञ्चक अनुभव नोभेम्बर १ देखि सुरु भई शनिबारसम्म सञ्चालन हुँदैछ।
कम्पनीका सञ्चालक निर्मल पाण्डेका अनुसार यस पटक ५२ जना विदेशी र नेपालीले स्काइडाइभिङ गर्दैछन्। “१२ जना रसियन स्पोर्ट्स जम्पर्स पनि पोखरा आइरहेका छन्। स्काइडाइभिङलाई नियमित रूपमा सञ्चालन गर्न पाए पोखरामा विदेशी पर्यटकको आगमन अझै बढ्नेछ,”
पाण्डेले भने।
नियमित अनुमति नहुँदा चुनौती
नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल स्काइडाइभिङका लागि एकपटकमा १५ दिनको मात्र अनुमति दिने गरेको छ। पाण्डेका अनुसार अनुमति प्रक्रिया लामो र झन्झटिलो हुँदा व्यवसायिक सम्भावनामा अवरोध पुगेको छ। “प्राधिकरणले मनोरञ्जनात्मक उड्डयन सञ्चालन प्रमाणपत्र ‘आरएओसी’ दिएमा लगानीकर्ताले दीर्घकालीन योजना बनाउन सक्नेछन्,” उनले भने, “यसले पर्यटन आम्दानी र रोजगारी दुवै बढाउँछ।”
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार स्काइडाइभिङका लागि पोखरा र सगरमाथा क्षेत्र (स्याङबोचे) प्रमुख सम्भावनायुक्त गन्तव्य हुन्। “मापदण्ड पूरा गर्ने कम्पनीलाई आरएओसी दिने प्रक्रिया अघि बढाइएको छ,” उनले भने, “मनोरञ्जनात्मक उड्डयन प्रमाणपत्र पाएपछि कम्पनीहरूले जुनसुकै समयमा स्काइडाइभिङ सञ्चालन गर्न पाउनेछन्।”
तीन प्याकेजमा सेवा
हाल पोखरामा स्काइडाइभिङ नेपाली प्रशिक्षकहरूकै टोलीले सञ्चालन गरिरहेका छन्। एलिस थापा, सुवास थापा, मनिष हिराचन र नेपालकी पहिलो महिला स्काइडाइभर यसोदा केसी थापा स्काइडाइभिङ प्रशिक्षकका रूपमा कार्यरत छन्। एलिस थापाका अनुसार अहिले तीन प्याकेज उपलब्ध छन् जसमा डिलक्स प्याकेज रु ९५ हजार रहेको छ भने भिआइपीमा प्याकेज रु १ लाख १५ हजार तथा डायमण्ड प्याकेज रु १ लाख ५० हजारसम्म रहेको छ । यस्तै विदेशीका लागि यो मूल्य क्रमशः ७ लाख ५० हजार ९ सय र १ हजार २ सय अमेरिकी डलर निर्धारण गरिएको छ।
थापाका अनुसार हेलिकप्टरबाट हामफालेपछि ५० सेकेन्डको ‘फ्री-फाल’ पछि प्यारासुट खुल्ने र त्यसपछि ७/८ मिनेटसम्म आकाशमा उडान हुने गर्छ। “आकाशमा उड्ने क्रममा हिमाल र पोखराको प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई लोभ्याउँछ,”
उनले भने, “यो साहसिक खेलले जीवनकै अविस्मरणीय क्षण प्रदान गर्छ।”
साहसिक पर्यटनको केन्द्र बन्दै पोखरा
नेपालमा स्काइडाइभिङको व्यावसायिक सम्भावना ठूलो रहेको प्रशिक्षक थापाको भनाइ छ। “पोखरालाई स्काइडाइभिङलगायत साहसिक खेलको केन्द्र बनाउन सकिन्छ। यसले रोजगारी सिर्जना र राष्ट्रिय आम्दानी दुवैमा योगदान पुर्याउँछ,” उनले भने।
प्राधिकरणले स्काइडाइभिङ कम्पनीलाई छिट्टै ‘आरएओसी’ दिई नियमित सञ्चालन गर्न दिने संकेत गरेको छ। त्यसपछि पोखरामा स्काइडाइभिङ सालभर सञ्चालन गर्न सकिनेछ, जसले पोखरालाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा थप बलियो बनाउने अपेक्षा गरिएको छ।

