१४औँ पोखरा महोत्सवको तयारी पूरा, शिक्षा-संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

Share:

पोखरा । १४औँ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। आगामी पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी आयोजक संस्था युनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनमार्फत दिएको हो। स्थापनाकालदेखि नै पोखरा महोत्सवको आयोजना गर्दै आएको युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै सामाजिक क्षेत्रमा योगदान गर्दै आएको छ।

यस वर्षको महोत्सवबाट क्लबको आफ्नै जग्गा रहेको पोखरा-२७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवासीय छात्रावास निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको क्लबका महासचिव तथा महोत्सव प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए।

उनका अनुसार २० कोठाको छात्रावास निर्माण लक्ष्य लिइएकोमा हालसम्म ३ कोठाको भवन निर्माण सम्पन्न भइसकेको छ। १४औँ पोखरा महोत्सवबाट प्राप्त आम्दानीबाट थप कोठा निर्माण गरी आगामी शैक्षिक सत्रदेखि छात्रावास सञ्चालन गरिने योजना रहेको छ। साथै, महोत्सवको प्रवेश टिकटबाट प्रति टिकट एक रुपैयाँ सेती नदी संरक्षणका लागि छुट्याउने अभियानलाई निरन्तरता दिइनेछ।

रवि एण्ड सन्नी इन्डस्ट्रिज प्रा.लि.को ‘बेटर’ ब्रान्ड मुख्य प्रायोजक रहेको महोत्सवका सह–प्रायोजकमा सिटीजन फर्निचर रहेको छ। प्रायोजकहरूमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, डियर वाक पोखरा स्कुल, ओमोडा जेको, हिमश्री फुड्स (रारा तयारी चाउचाउ), भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, सिद्धि अटोपार्ट्स, डिभ्योल मोबिल र पोखरा सेकुवा घर रहेका छन्।

महोत्सवका विभिन्न साझेदार संस्थामध्ये हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेशनल, पेमेन्ट पार्टनरमा रेभल, ग्रुमिङ पार्टनरमा बबी ब्यूटी सलुन, मेडिकल पार्टनरमा मेडिप्लस हस्पिटल, इन्टरनेट पार्टनरमा भायानेट, अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल एयरलाइन्समा यती एयरलाइन्स, अफिसियल टेलिभिजनमा एबीसी टेलिभिजन र फेवा टेलिभिजन एचडी रहेका छन्। विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका र अमरसिंह मावि तथा सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान रहेका छन्।

महोत्सव अवधिभर बेटर होम एप्लायन्सको स्टलबाट १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा कुपन प्राप्त हुनेछ। भाग्यशाली उपभोक्तामध्ये पहिलोले १ टनको एसी, दोस्रोले वाटर डिस्पेन्सर वा गिजर, तेस्रोले चिम्नी, चौथोले भ्याकुम क्लिनर र सान्त्वना पुरस्कारस्वरूप एयर फ्रायर प्राप्त गर्नेछन्। विजेताको घोषणा अन्तिम दिन गोलाप्रथामार्फत गरिनेछ।

त्यसैगरी बन्दीपुर केबलकारले दैनिक ५ जना भाग्यशाली दर्शकलाई निःशुल्क केबलकार टिकट प्रदान गर्नेछ भने भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले भाषा कक्षामा ५० प्रतिशत छुटसहित विभिन्न सुविधा उपलब्ध गराउनेछ।

१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २५० भन्दा बढी स्टल रहनेछन् भने करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा विभिन्न जातजातिका कला-संस्कृति, औद्योगिक तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री, सूचना प्रविधि, पर्यटन प्रवर्द्धन, कृषि गतिविधि, सांस्कृतिक नृत्य, बाल उद्यान, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, टिकटक प्रतियोगिता, झाँकी प्रदर्शनीलगायतका कार्यक्रम हुनेछन्।

महोत्सवको उद्घाटन समारोहमा चर्चित अभिनेता विपिन कार्की र विजय बरालको उपस्थिति रहनेछ। साथै, लोकदोहोरी, पप, रक तथा लाइभ कन्सर्टतर्फ प्रकाश सपुत, शान्तिश्री परियार, बद्री पंगेनी, दुर्गेश थापा, सविन राई, भिटेन, अनुप्रस्था, लाउरे लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।

शारीरिक अशक्त, ज्येष्ठ नागरिक, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्षमुनिका बालबालिका तथा पोशाकसहितका सुरक्षाकर्मीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

शिक्षा, संस्कृति, पर्यटन र आर्थिक चलायमानतामा योगदान पुर्‍याउने लक्ष्यसहित आयोजना हुने १४औँ पोखरा महोत्सवले पोखराको पहिचान र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: