
पोखरा । गण्डकी प्रदेश सभाले आफ्नो आठौँ स्थापना दिवस मनाउँदै गर्दा पोखरा-१२ रामघाटस्थित प्रदेश सभा हातामा उत्सवको रौनक देखिनुपर्ने थियो। तर वास्तविकता भने त्यसको ठीक उल्टो रह्यो। प्रदेशका मन्त्रीहरू बाहेक जम्मा ११ जना प्रदेश सभा सदस्य, केही कर्मचारी, पत्रकार र सीमित सरोकारवालाको उपस्थितिमा सम्पन्न स्थापना दिवस कार्यक्रम औपचारिकतामै खुम्चिन पुग्यो।
यो दृश्य केवल एउटा कार्यक्रमको खल्लोपनमा सीमित रहेन, बरु प्रदेश संरचनाप्रतिको जनप्रतिनिधिकै उदासीनता र संघीय व्यवस्थामाथि उठ्दै आएका प्रश्नलाई झनै उजागर गर्ने आधार बन्यो। संघीयता कार्यान्वयनमा आएयता नै प्रदेश संरचनाको औचित्यमाथि बहस हुँदै आएको सन्दर्भमा स्थापना दिवसकै कार्यक्रममा ५९ मध्ये मन्त्रीसहित २१ जना मात्र सांसद उपस्थित हुनु संसदीय मर्यादाप्रतिको बेवास्ताको संकेतका रूपमा हेरिएको छ।
गत वर्ष गण्डकी प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा माघ २२ गते स्थापना दिवस मनाउने निर्णय गरेका थिए। यसअघि प्रदेश सरकारले फागुन ४ गते र प्रदेश सभाले माघ २२ गते छुट्टाछुट्टै स्थापना दिवस मनाउँदै आएका थिए। मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुखहरूको संयुक्त बैठकले एउटै मितिमा मनाउने सहमति गरेको एक वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन।
समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, उपसभामुख बिनाकुमारी थापा, मन्त्रीहरू पद्मा जिसी, विन्दुकुमार थापा, डा. टकराज गुरुङ, प्रकाशबहादुर केसी, भेषबहादुर पौडेल, कृष्ण पाठक र मित्रलाल बस्याल सहभागी थिए। सांसदतर्फ गणेशमान गुरुङ, दमयन्ती रुचाल, दीपेन्द्रबहादुर थापा, देवका पहारी त्रिपाठी, नन्दकला दमै नेपाली, पार्वती तामाङ, विकल शेरचन, भक्तबहादुर कुँवर, राजकुमारी भुजेल, सरस्वती गुरुङ र सुनिता थापा उपस्थित थिए।
कार्यक्रममा उपस्थित हुन नसक्नुका कारण निर्वाचन केन्द्रित व्यस्ततालाई सांसदहरूले प्रमुख कारणका रूपमा अघि सारेका छन्। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले पार्टीले निर्वाचनका क्रममा जिम्मेवारी तोकिदिँदा उपस्थित हुन नसकिएको बताए।
‘प्रदेश स्थापना दिवस नियमित कार्यक्रम हो, तर पार्टी नेतृत्वको हैसियतले निर्वाचन केन्द्रित कार्यतालिकामा खटिनुपरेको कारण सहभागी हुन सकिएन,’ उनले भने, ‘प्रदेशकै स्थापना दिवसमा उपस्थित हुन नसक्दा मनले भने अप्ठेरो मानेको छ।’
प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले पनि निर्वाचन नजिकिँदा अधिकांश सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भएकाले उपस्थिति कम भएको आंकलन गरे। ‘फोन र एसएमएसमार्फत सबैलाई जानकारी गराएका थियौँ,’ उनले भने, ‘तर निर्वाचन मुख्य कारण बन्यो।’ आफ्नै कार्यक्रममा प्रतिनिधिहरू नआउँदा जनतामा नकारात्मक सन्देश जाने स्वीकार गर्दै उनले यस विषयमा पछि छलफल गरिने बताए।
स्थापना दिवस समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संघीयता सुदृढ गर्न प्रदेश संरचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्न सबै पक्ष एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
संविधानले तोकेको कार्यक्षेत्रभित्र रहेर जनताको अधिकार घरदैलोमै पुर्याउने जिम्मेवारी प्रदेशको भएको उल्लेख गर्दै उनले गण्डकी प्रदेशले नागरिकको जीवनसँग जोडिने काममा सफलता हासिल गरेको बताए। प्रदेश सभा र प्रदेश सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्य अझ सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतन्त्र र संघीय शासन प्रणालीको मर्मअनुसार जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रशासनिक पुनर्संरचनामार्फत ३२ कार्यालय मर्ज गरी १९ वटा बनाइएको, ३०४ भन्दा बढी दरबन्दी कटौती गरी वार्षिक करोडौँ खर्च घटाइएको उनले जानकारी दिए।
गत भदौ २४ गतेको विनाशकारी घटनाबाट करिब ८५ करोड रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै पुनर्निर्माणका लागि चालू खर्च कटौती गरेर वित्तीय अनुशासन कायम गरिएको मुख्यमन्त्रीको दाबी थियो। संघ सरकारबाट अधिकार हस्तान्तरण र आवश्यक कानुन नबन्दा प्रदेशले काम गर्न कठिनाइ भोग्नुपरेको उनको भनाइ थियो।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले सीमित स्रोतका बाबजुद प्रदेशले महत्वपूर्ण काम गरिरहेको बताए। गणतन्त्र र संघीयताको उपलब्धिमाथि चुनौती दिने प्रयासहरू देखिएको भन्दै त्यसविरुद्ध एकताबद्ध हुनुपर्ने उनले आग्रह गरे।
कार्यक्रममा विपक्षी दलका नेता हरिबहादुर चुमान, राप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङलगायतले प्रदेशले जनताको मन जित्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए।
