
पोखरा । विद्यार्थी सुरक्षालाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले विद्यालय तथा कलेजका बस चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण कडाइका साथ गर्ने भएको छ। महानगर प्रमुख धनराज आचार्यले हिजो (सोमबार) साँझ सूचना जारी गर्दै आज (मंगलबार) देखि महानगरभित्र सञ्चालित सबै शैक्षिक संस्थाका सवारी चालकको अनिवार्य मापसे परीक्षण गरिने जानकारी दिएका हुन्।
महानगरका अनुसार पछिल्लो समय विद्यार्थी बोक्ने सवारी साधनमा चालकको लापरवाही बढेको गुनासो आएपछि कारबाही प्रक्रिया कडा बनाइएको हो। मंगलबारदेखि सुरु हुने विशेष चेकिङमा कुनै चालकले मादक पदार्थ सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
चालकको गल्तीमा सम्बन्धित विद्यालय वा कलेजलाई पनि जिम्मेवार बनाउने व्यवस्था गरिएको छ। मापसे गरेको भेटिएमा सम्बन्धित शैक्षिक संस्थालाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने प्रमुख आचार्यले स्पष्ट पारेका छन्।
नियम उल्लंघन दोहोरिएमा संस्थासँग स्पष्टीकरण सोधिने र चालकको सवारी अनुमति पत्र ९लाइसेन्स० निलम्बनसम्म हुन सक्ने चेतावनी महानगरले दिएको छ।
विद्यार्थीको सुरक्षाजस्तो संवेदनशील विषयमा लापरवाही सह्य नहुने भन्दै प्रमुख आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा सन्देश दिएका छन्, “लापरबाहीको पनि सीमा हुन्छ । प्रधानाध्यापकरप्रिन्सिपलज्यूहरू गम्भीर हुनुहोला ।”
पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले विद्यार्थी सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट संकेत दिएका छन्।
हरेक दिन सयौँ विद्यार्थी बोकेर गुड्ने सवारी साधनमा हुने सानो लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले महानगरले यो कदम चालेको जनाएको छ।
फागुन ५ गतेदेखि लागू हुने यो निर्णयले विद्यालय यातायात व्यवस्थापनमा कडाइ ल्याउने र अभिभावकमा सुरक्षाको भरोसा बढाउने अपेक्षा गरिएको छ।
