पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज: ६ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुँदै 

Share:

पोखरा । पोखरा विश्वविद्यालय को २१औँ दीक्षान्त समारोह आज (शुक्रबार) आयोजना हुँदैछ। पोखरा-३० खुदी ढुंगेपाटनस्थित केन्द्रीय परिसरमा हुने समारोहमा विभिन्न संकायका ६ हजार ६ सय २२ जना विद्यार्थी दीक्षित हुनेछन्।

दीक्षान्त समारोहमा ६ दशक लामो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेकी चाँदनी जोशी मुख्य अतिथिका रूपमा सहभागी हुँदैछिन्। नेपाल सरकारकी पूर्व सहसचिव जोशीले UN Women को दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा १८ वर्ष सेवा गरेकी प्रतिष्ठित व्यक्तित्व हुन्।

कुन संकायबाट कति ?

यसपटक दीक्षित हुनेमध्ये व्यवस्थापन संकायबाट ३,६२५ जना, विज्ञान तथा प्रविधिबाट २,५०६ जना स्वास्थ्य विज्ञानबाट ३६५ जना र मानविकी तथा सामाजिक शास्त्रबाट १२६ जना दीक्षित हुँदैछन्। समारोहमा स्नातकोत्तर तहमा सर्वाधिक अंक ल्याउनेलाई ‘स्वर्णांकित कुलपति पदक’ तथा स्नातक तहमा उत्कृष्टलाई ‘स्वर्णांकित उपकुलपति पदक’ प्रदान गरिनेछ।

स्नातक तहको बीसीए कार्यक्रममा उच्चतम अंक ल्याउने विद्यार्थीले ‘अक्सफोर्ड पदक’ प्राप्त गर्नेछन्। यस्तै, ६ सय ६४ जना विद्यार्थीलाई ‘डीन लिस्ट’ उपाधिबाट सम्मान गरिने विश्वविद्यालयले जनाएको छ।

विसं २०५४ मा स्थापना भएको विश्वविद्यालयमा हाल ३७ हजार ५ सय ९३ जना विद्यार्थी अध्ययनरत छन्। देशभरका ६६ महाविद्यालय (आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त) मार्फत ७४ शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

हालै काठमाडौं को च्यासलमा आंगिक कार्यक्रम विस्तार गरिएको छ भने रजहर, नवलपुर मा ‘ब्याचलर अफ न्याचुरोपेथी एन्ड योगिक साइन्सेस (BNYS)’ कार्यक्रम सुरु गर्ने तयारी छ।

पोखरा-३० मै १०० शैय्याको सुविधायुक्त शिक्षण अस्पताल सञ्चालनमा छ, जसले स्वास्थ्य विज्ञानका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा र स्थानीयलाई उपचार सेवा दिँदै आएको छ।

पछिल्लो ५ वर्षमा ७,२७९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ। यसमा सरकारी विद्यालयमा अध्ययन गरेका गरिब, जेहेन्दार तथा लक्षित समुदायका विद्यार्थीलाई प्राथमिकता दिइएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्रममा भारत, चीन, थाइल्यान्ड र पोल्याण्डका विश्वविद्यालयहरूसँग सहकार्य भइरहेको छ। साथै United Nations Development Programme (युएनडिपी) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँग औपचारिक समझदारी भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: