
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग टेलिफोन वार्ता गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत आफूले दुवै नेतासँग छुट्टाछुट्टै संवाद गरेको जानकारी दिएका हुन्। वार्ताका क्रममा उनले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लामिछानेको विजय तथा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको उल्लेखनीय सफलताप्रति बधाई दिएका छन्।
मोदीले रवि लामिछाने र बालेन दुवैलाई आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै नेपालमा राजनीतिक स्थिरता र विकासका लागि सफल कार्यकालको कामना पनि गरेका छन्।
वार्ताका क्रममा भारत नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री मोदीले बताएका छन्।
उनले भारत-नेपाल सम्बन्ध आगामी वर्षहरूमा अझ मजबुत र उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासबाट द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सकिने उल्लेख गरेका छन्।
मोदीको यो संवादलाई नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि भारततर्फबाट आएको महत्वपूर्ण कूटनीतिक संकेतका रूपमा हेरिएको छ।

