
काठमाडौं । नेपाली एटिएमबाट पैसा लुट्ने चिनियाँ गिराेहका योजनाकार स्पेनमा रहेको खुलेको छ । उसले त्यहाँ बसेर नेपालमा समूह परिचालन गरेको बाहिर आएको हो। पक्राउ परेका अभियुक्तले आफ्ना नाइके स्पेनमा रहेको प्रहरी सामु बयान दिएका हुन्।
प्रहरीले पैसा लुट्ने चिनियाँ गिराेहका थप एकजनालाई त्रिभुवन विमानस्थलबाट आइतबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेमा सु लुसली नामका ३६ वर्षीय चिनियाँ युवक रहेका छन्।
फरार अन्य दुईको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
शनिबार राजधानीका विभिन्न बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ परेका थिए। उनीहरुलाई आइतबार प्रहरीले सार्वजनिक गरिसकेको छ । पक्राउ पर्नेमा लीङ ज्यामिङ, लुओ ज्यालिप, झु लियाङग्याङ्, क्यू योङसिङ् र सेन बिनबिन रहेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार उनीहरुले फर्किने योजना बनाएका थिए । उनीहरुले बैंक खातामा रहेको रकम निकाल्न नसके पनि एटिएम बुथमा रहेको सबै रकम झिक्न सक्ने प्रविधिको प्रयोग गरेको खुलेको थियो।
प्रारम्भिक अनुसन्धानबाट एक करोड ६८ लाख ५४ हजार चार सय २० रुपैयाँ निकालिएको देखिएको छ । जसमध्ये एक करोड ३६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ बरामद गरिसकेको छ ।
यो पनि – एटीएमबाट करोडाैं रकम झिकेर भोली फर्किने योजनामा थिए ‘चिनियाँ ह्याकर’
