विमानस्थल बनाउने निर्णयको पोउवा संघद्वारा स्वागत

266
0
Share:

पोखरा, ११ कात्तिक । पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन सरकारले गरेको निर्णयको पोखरा उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

संघका अध्यक्ष विन्दुकुमार थापाले सरकारले पोखरामा विमानस्थल बनाउने निर्णय गर्नु स्वागत योग्य कमद भएको बताए । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि सम्पूर्ण निजी क्षेत्र तथा आम पोखरेली जनतामा खुुसीयाली छाएको छ, अध्यक्ष थापाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘अब तत्काल विमानस्थल निर्माणको काम अगाडि बढ्नुपर्छ ।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने पक्का भएको बताउँदै अध्यक्ष थापाले समयमा नै निर्माण सम्पन्न गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । विमानस्थल बनाउने निर्णय पोखराको गौरवसँग जोडिएको उनको भनाइ छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि संघको नेतृत्वमा विगतदेखि नै सरकार लगायत सरोकारवाला निकायलाई दबाब दिइएको थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिका संयोजकसमेत रहेका थापाको नेतृत्वमा हालै एक टोली विमानस्थल बनाउन दबाब दिन राजधानी पुगेको थियो । कास्कीका राजनीतिक दलका प्रमुख, सभासद तथा व्यवसायी, पत्रकार सम्मिलित टोलीले पोखरामा विमानस्थल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरेको थियो । टोलीले अर्थमन्त्री डा. रामशरण महत, पर्यटनमन्त्री दीपकचन्द्र अमात्य, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा–माओवादीका महासचिव रामबहादुर थापा, सचिव देव गुरुङलगायतसँग पनि विमानस्थल निर्माणमा सहयोग गर्न आग्रह गर्दै भेट गरेको थियो । ‘उक्त भेटले पनि पोखरामा विमानस्थल बनाउने अभियानमा सकारात्मक योगदान गरेको छ,’ थापाले भने ।

विमानस्थल निर्माणपछि पोखराको विकासले फड्को मार्ने थापाले बताएका छन् । ‘लामो समयसम्म पोखरेली जनताले विमानस्थलका लागि गरेको धैर्यता पुरा हुनु सुखद् पक्ष हो,’ उनले भने, ‘पोखरालगायत पश्चिमाञ्चलको विकासको ढोका खोल्ने काम भएको छ ।’ पर्यटन तथा सेवामूलक उद्योगले अब यस क्षेत्रमा गति लिने उनको भनाइ छ । सोमबार बसेको मन्त्रीपरिषद्का बैठकले पोखरामा विमानस्थल बनाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: