
पोखरा । सामाजिक संजाल फेसबुकमा अहिले एउटा भिडियोले निकै स्थान पाएको छ । बुधबार राति लाइभमार्फत एक युवाले सार्वजनिक गरेको त्यो भिडियो बिहिबार बिहानदेखि अझै चर्चामा छ ।
पहिलोपटक जहाँबाट सो भिडियो सार्वजनिक भएको थियो अहिले भने हटाइएको छ । भिडियो पोखरा लामाचौरका राजन केसीको थियो ।
प्रहरीसँग लाइसेन्स बारे भएको विवादले उनले एकरात प्रहरी हिरासतमा बिताए । प्रहरीसँग विवाद सुरु हुनुको कारण थियो केसीको सवारी चालक अनुमति पत्र लाइसेन्समा परेको प्वाल ।
उनी बुधबार राति सभागृहचोकको मिडटाउनबाट चलचित्र हेरेर घर फर्कँदै थिए । न्यूरोडमा रहेको पोखरा महानगर अगाडि प्रहरीको चेकिङ थियो । उनले प्रहरीको चेकिङ देखेपछि आफ्नो स्कुटर रोके ।
त्यहाँ खटिएका ट्राफिक प्रहरीले उनीसँग लाइसेन्स भए÷नभएको सोधखोज गरे । उनले आफ्नो लाइसेन्स देखाए । एकपटक पहिले नै मापसेका कारण उनको लाइसेन्समा प्वाल पारिएको थियो । त्यही विषयलाई लिएर होच्याउने शैलीमा प्रहरीले प्रतिक्रिया दिए ।
‘मैले मेरो कागजात देखाएँ, डियुटीमा खटिनु भएका ट्राफिक प्रहरीले त्यहाँ परेको प्वाल देखाएर मलाई होच्याउन सुरु गर्नुभयो,’ केसीले भने, ‘मैले उहाँलाई यसरी भन्न मिल्छ भन्दा मलाई तपाईँले सिधै स्कुटर राखेर जानुस भन्न थाल्नुभयो ।’
त्यसपछि सुरु भएको प्रहरी–राजन विवाद फेसबुक लाइभसम्म पुग्यो । प्रहरीले स्कुटर नियन्त्रणमा लिएपछि उनी फेसबुक लाइभमा आए । लाइभमा उनले घट्नाको नालीबेली सुनाए । लाइसेन्समा फोटो प्रष्ट देखिएन भनेपछि नागरिकतामा भएको फोटोसमेत देखाएको उनी बताउँछन् ।
लाइभमा उनले बारम्बार गल्ती बारे प्रहरीलाई सोधिरहेको देखिन्छ । तर, ती ट्राफिक प्रहरीले उनलाई अफिसमा आउनुस् भन्दै टारिरहेका सुनिन्छ । भिडियोमा ती प्रहरीको अनुहार भने देखाइएको छैन् ।
बोलाबोल हँदाहँदै प्रहरीले पनि भिडियो खिच्न थाल्छन् । सानोकुरा ठूलो नगराउँ भनेको पनि लाइभ भिडियोमा सुन्न सकिन्छ । त्यही बीचमा सडकमा नाटक नगरौं भन्दै आफूँलाई हत्कडी लगाएर लगाएको उनले बताए ।
अहिले प्रहरीले के.सीलाई हिरासतमुक्त गरेको छ । तर, हिरासतमुक्त भएका उनी प्रहरीको यो कदमले प्रहरीप्रतिको विश्वास गुमेको बताउँछन् ।
कास्कीमा ट्राफिक प्रहरीको यो पहिलो विवाद भने होईन । झन्डै ४ महिना अघि लाइसेन्स वितरणमा घुस लेनदेन गरेको आरोप कास्कीका ट्राफिक प्रहरी प्रमुखमाथि लागेको थियो ।
दुई महिना अगाडि पृथ्वीचोकमा प्रहरीले हातपात गरेको विषय बाहिर आएको थियो । तर त्यो विषय त्यत्तिकै सेलायो । अहिले कास्की प्रहरी जुवा काण्डमा मुछिएको छ ।
गल्ती स्वीकार नगर्दा प्रहरीको धम्की
घट्नाले ठूलो रुप लिएपछि केसीलाई प्रहरीले रातारात हत्कडी लगाएर लग्यो । प्रहरीले लगेपछि उनले त्यहाँ प्रहरीको धम्की पनि पाए ।
‘बिना गल्ती लगेर प्रहरीले गल्ती स्वीकार नगरेको भन्दै धम्की दियो,’ बुधबार राति राजनसँगै रहेकी स्वस्तिका केसीले बिगखबरसँग भनिन्, ‘स्वीकार नगरे सार्वजनिक मुद्धा लगाउने पनि भनियो ।’
सार्वजनिक मुद्धा लाग्ने डरले पनि नगरेको गल्ती स्वीकार गर्नुपरेको स्वस्तिकाले बताइन् । उनले प्रहरीले आम सर्वसाधरणसँग विगतदेखि गर्दै आएका यस्ता क्रियाकलापले प्रहरीप्रति जनताको विश्वास गुम्ने जिकिर गरिन् ।
‘प्रहरीले यस्तो गर्छ भन्ने सुनेको थिएँ, पहिलोपटक आफैँले देखे, ’ उनी भन्छिन्, ‘सार्वजनिक मुद्धा लाग्ने डरले पनि नगरेको गल्ती स्वीकार गर्नुपर्यो ।’
उनले डियुटीमा खटिएका प्रहरीसँग केहि सोधखोज नगरी प्रहरी एकतर्फी ढङ्गले लागिपरेको आरोप पनि लगाएकी छन् । ‘राति डियुटीमा खटिएका प्रहरीसँग केहि सोधखोज नगरी प्रहरी एकतर्फी ढङ्गले हामीलाई नै दोष दिन लागिपर्यो,’ उनले भन्निन् ।
प्रहरीले भिडियो हटाउन भनेपछि डिलिट गरिएको उनले जानकारी दिइन् । एक लाख भन्दा बढीले हेरेको भिडियो अहिले विभिन्न पेजहरुलमा भेट्न सकिन्छ ।
प्रहरी भन्छ – आरोपमा सत्यता छैन्
बुधबार राति राजनसँगै रहेकी स्वस्तिकाले प्रहरी एकतर्फी ढङ्गले लागिपरेको आरोप लगाएपछि हामीले जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राज कुमार केसीलाई सम्पर्क ग¥यौँ ।
डिएसपी केसीले आरोपमा कुनै सत्यता नभएको बताए । उनले डियुटीमा खटिएका प्रहरीसँग सोधखोज गरिएको स्पष्ट पारे । उनले राजनले सार्वजनिक गरेको फेसबुक लाइभ लामो विवादपछि सुरु भएको सुनाए ।
‘फेसबुक लाइभ लामो विवादपछिको हो, हामीले पनि अडियो सुनायौँ,’ उनले भने, ‘हामीले अडियो सुनाएपछि उनले आफ्नो गल्ती महशुस गरे ।’
बिना गल्ती जरिवाना
राजनलाई प्रहरीले छाडे पनि विवाद अन्त्य भएन । आफ्नो स्कुटर लिन जिल्ला ट्राफिक कार्यालय पुगेका उनले त्यहाँ पनि हप्की नै खाए । बिना गल्ती जरिवाना तिर्नुपर्ने भएपछि चर्काचर्की भयो । केहि उपाय नलागेपछि जरिवाना तिरेर फर्किए ।
जरिवाना त तिरे तर ट्राफिक प्रहरीलाई कारण के देखाउने भन्नेमा नै दोधार पर्यो । ट्राफिकले लापरबाही गरी सवारी चलाएको भन्दै एक हजार जरिवाना तिरायो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राज कुमार केसी लाइसेन्समा फोटो प्रष्ट नभएका कारणले जरिवाना तिराइएको बताउँछन् ।
हत्कडी लगाउनु नै गलत
प्रहरीले हत्कडी लगाएर लगे पनि हत्कडी लगाउनु नै गलत भएको कानुनका जानकारवाला बताउँछन् । पक्राउ पुर्जी बिना हत्कडी लगाउन नपाइने अधिवक्ता कुन्जनी परियार प्यासीको भनाइ छ ।
बालबालिकालाई हत्कडी लगाउन नपाइने कानुन रहेको र अरुलाई हत्कडी लगाउँदा पक्राउ पुर्जी चाहिने उनले बताईन् । सार्वजनिक मुद्धा लगाउने अधिकार भने प्रहरीलाई रहेको उनले जानकारी दिइन् ।
हत्कडी लगाएकै विषयमा हामीले डिएसपी केसीलाई सम्पर्क गर्दा उनले सुरुक्षाका लागि त्यसो गरिएको बताए ।
यस्तो थियो डिलिट गरिएको लाइभ भिडियो::
