साग महिला क्रिकेटमा बंगलादेश र श्रीलंका विजयी

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले पराजित गरेको हो । यस्तै श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो ।

टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट रुबिना क्षेत्रीले सर्वाधिक १३ रन जोडिन् । यस्तै सोनु खड्काले १२ रन र ईन्दु वर्माले १० रन जोडेपनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् । प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण ४ विकेट लिएकी थिइन् ।

त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १÷१ विकेट लिन सफल भए । ५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले कुनैपनि विकेट नगुमाई ७.४ ओभरमै जित निकाल्यो ।

बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले ३ चौका तथा २४ बल सामना गरेकी खातुनले ४ चौका प्रहार गरिन् ।

बुधबारको अर्को खेलमा श्रीलंकाले कमजोर माल्दिभ्समाथि २ सय २४ रनको जित निकालेको हो । पहिला व्याटिङ गर्दै श्रीलंकाले २ विकेटको क्षतिमा २० ओभरमा २ सय ७९ रनको विशाल योगफल तयार पारेको थियो ।

श्रीलंकाकाले तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १ सय ६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा ३ छक्कार र १५ चौका प्रहार गरिन् ।

शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् उनले ४८ बलमा ३ छक्का ११ चौका प्रहार गरेकि थिइन् ।

माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनैपनि खेलाडीले दोहारो आँकडाको योगफल जोडन समेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले ५÷५ रन बनाए ।

बंगलादेशको वलिङतर्फ अज अनलीले ३, संदिपनीले २ तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान १–१ विकेट लिए ।

यो संगै राउण्ड रोविन लिगका सबै टिमले दुई दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बंगलादेश ४ अंक सहित शिर्षस्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल २ अंक सहित दोश्रो स्थानमा रहको छ ।

समान २ अंक जोडेपनि श्रीलंका तेश्रो स्थानमा छ भने कुनैपनि जित ननिकालेको माल्दिभ्स पुच्छरमा रहेको छ । प्रतियोगिता अन्तर्गत बिहीबार विहान ११ बजेदेखि शुरु हुने खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुनेछन् ।

सम्बन्धित सामाग्री::

महिला क्रिकेटमा नेपाल पराजित, बंगलादेश १० विकेटले विजयी

‘ब्याटिङमा चुक्दा हार्यौं, अर्को खेलमा सुधार गर्दै श्रीलंकालाई कडा टक्कर दिन्छौँ’– प्रशिक्षक टमटा

कमेन्ट गर्नुहोस्
Share: