नयाँ कीर्तिमान बनाए पछि सावित्राले भनिन् – ‘भारतलाई जितेर देखाउछौं’

Share:

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पोखरामा भइरहेको महिला फुटबलमा नेपालकी सावित्रा भण्डारीले बिहिबार नयाँ कीर्तिमान बनाइन् । उनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा पुरानो कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो पक्षमा पारेकी हुन् ।

बिहिबार माल्दिभ्स विरुद्ध भएको खेलको १६ औं मिनेट उनका लागि भाग्यशाली सावित भयो । १६ औं मिनेटमा गोल गरेसँगै उनी नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने महिला खेलाडी बनिन् । उनले पूर्व राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अनु लामाको कीर्तिमान तोडेकी हुन् ।

यसअघि दुवैको गोल संख्या ३५÷३५ थियो । बिहिबारकै खेलमा सावित्राले ह्याट्रिक गरिन् । उनले कीर्तिमान बनाएको गोल पछि खेलको २३ औं मिनेटमा गोल गर्न सफल भइन् । त्यो गोलले नेपाल माल्दिभ्स विरुद्ध २–० ले अगाडि रह्यो ।

खेलको अतिरिक्त समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमार्फत थप एक गोल गरिन् । डिबक्स भित्र सावित्रालाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीको सदु¥योग गरेर उनले ह्याट्रिक पूरा गरिन् ।

आजको खेल नेपालले ३-० ले जित्यो । आजको तीन गोल जोड्दा उनको कूल गोल संख्या ३८ पुगेको छ ।

यो पनि : सावित्राको ह्याट्रिकसँगै एक खेल अगावै नेपाल फाइनलमा

सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने उनको योजना मंगलबार भएको पहिलो खेलमा नै थियो । मंगलबार श्रीलंका विरुद्धको खेल नेपालले १–० ले जित्यो । सो खेलमा उनले गोल गर्न भने सकिनन् ।

श्रीलंका विरुद्धको खेलमा सरु लिम्बुले ८८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । बिहिबारको जीतसँगै नेपाल र भारतले स्वर्णका लागि भिड्ने पक्का भएको छ ।

एक खेल पनि नहारेका दुवै टोलीको समान ६÷६ अंक भएको छ । आज नै भएको खेलमा भारतले श्रीलंकालाई ६–० ले पराजित ग¥यो । यसअघि मंगलबार भारतले माल्दिभ्सलाई ५–० ले हराएको थियो ।

अब नेपालले समूह चरणको तेस्रो एवं अन्तिम खेलमा शनिबार भारतसँग खेल्ने छ । सो खेल हारे पनि दुवै टोलीलाई केही फरक पर्दैन् । अब दुवै टोलीको लक्ष्य स्वर्ण हो । र, दवै टोली दाबेदार मानिएका छन् । शनिबारको खेल दुवै टोलीका लागि आफ्नो अवस्था जाँच गर्ने मौका हु्नेछ ।

कास्यका लागि शनिबार नै माल्दिभ्स र श्रीलंका खेल्ने छन्। यी दुवै टोली अहिलेसम्म अंकबिहिन छन् ।

कीर्तिमान बन्दा खुशी छु : सावित्रा

सावित्राले मंगलबार श्रीलंका विरुद्धको खेलमा नै आफ्नो नयाँ कीर्तिमान बनाउने योजना भए पनि सफल नभएको बताएकी छन् ।

खेल पछि उनले भनिन्, ‘श्रीलंका विरुद्धको खेलमा नै कीर्तिमान बनाउने सोच थियो, सो खेलमा सकिनँ, आज पाएको चान्स सदु¥योग गरेँ । नयाँ कीर्तिमान बन्दा खुशी छु ।’

उनले नेपाल र भारतको स्वर्ण जित्ने सम्भावना समान रहेको भन्दै भारतलाई जित्ने गरी खेल्ने प्रतिक्रिया दिइन् ।

‘हिरो गोल्डकपमा उनीहरुको भूमिमा हामीले जितेका छौँ, साफ च्याम्पियसीपमा उनीहरुले हाम्रो भूमिमा जितेका छन्  । यसपाली भारतलाई जितेर देखाउने बेला आएको छ, पक्कै पनि देखाउँछौ,’ उनले भनिन् ।

तस्बिर-साग प्रचारप्रसार समिति

सम्बन्धित सामाग्री::

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात

साग महिला फुटबल : श्रीलंकाको पोष्टमा भारतको आधा दर्जन गोल

कीर्तिमानी अञ्जली भन्छिन् – ‘परिवारको साथले कमब्याक गरेँ, अब पछि हट्दिनँ’

कमेन्ट गर्नुहोस्
Share: