‘पोखराको प्रशिक्षण हाम्रो लागि नयाँ फ्लेवर हो, यसले पोखराको क्रिकेट विकासमा पनि सहयोग गर्छ’

Share:

पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले माघ तेस्रो साता अमेरिका र ओमानसँग सिरिज खेल्दैछ । सोही सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बन्द प्रशिक्षणका लागि पुस २९ गते पोखरा आयो । माघ १ गते पूर्वनिर्धारित समय अनुसार पोखरा क्रिकेट मैदानमा प्रशिक्षण ग¥यो ।

माघ २ र ३ गते पोखरामा लगातार हिउँदे झरी प¥यो । यसले नेपाली टोलीको बन्द प्रशिक्षण बिथोलिन पुग्यो र नेपाली टोलीले कभर्ड हलमा प्रशिक्षण गर्न बाध्य बन्यो । कभर्ड हलमा फिजिकल फिटनेश र बलिङ–ब्याटिङको अभ्यास ग¥यो । पिच फिल्डिङको अभ्यास भने नेपाली टोलीले गर्न सकेन ।

यसले नेपाली टोलीको प्रशिक्षणमा पूर्ण रुपमा बाधा ल्याएको र नेपालको खेलकौशल नबढ्ने समर्थकको आशंका रहेको छ । साथै उनीहरु पोखरामा भन्दा त्रिभुवन अन्तराष्ट्रिय मैदानमा नै अभ्यास गरेको भए नेपाली टोलीलाई फाइदा पुग्ने आश गरेका थिए ।

यता नेपाली टोलीका सबैभन्दा अनुभवी र निवर्तमान कप्तान पारस खड्का भने पोखरामा गरिरहेको प्रशिक्षण एकदमै राम्रो भइरहेको बताउँछन् । पोखरामा प्रशिक्षण गर्दैमा नेपाली टोलीको खेल खस्किन्छ भन्नु उचित नभएको उनको भनाइ छ । ‘धेरै पछि त्रिवि भन्दा बाहिर आएर प्रशिक्षण गर्न पाएका छौँ, निकै खुसी छौँ ।’ खड्काले भने, ‘पोखरामा प्रशिक्षण गर्दैमा खेल बिग्रिन्छ भन्ने हुँदैन ।’

दुई दिनको झरीले टोलीको प्रशिक्षणमा केही असर नपरेको खड्काले बताए । ती दुई दिन नेपाल भरनै पानी परेको र जहाँ प्रशिक्षण गरेको भएपनि गाह्रो हुने तर यहाँको कभर्ड हलले साथ दिएको उनी बताउँछन् । ‘दुई दिन पानी प¥यो, त्यही पनि हाम्रो प्रशिक्षण बिथोलिएको छैन ।’ खड्काले भने, ‘हामीले इन्डोर अभ्यास गरिरहेका छौँ, नेट्समा पनि निकै राम्रो प्रशिक्षण पायौँ ।’

सधैँ त्रिविमै प्रशिक्षण गरिरहेको नेपाली टोलीले पोखरा प्रशिक्षणमा नयाँ स्वाद पाएको उनको अनुभव छ । ‘त्रिविमै प्रशिक्षण गरिरहेको हाम्रो टोलीका लागि पोखरा प्रशिक्षण एक नयाँ फ्लेवर बनेको छ ।’ खड्काले भने, ‘यसले नयाँ कन्डिसनमा कसरी एडाप्ट हुने भन्ने सिकाउँछ ।’

पोखरामा क्रिकेटको आधार बनिसकेको र यसलाई अझ मजबुत बनाउन पोखरामा यस्ता बन्द प्रशिक्षण अझ धेरै आयोजना गर्नु पर्ने खड्काको बुझाइ छ । ‘पोखराको क्रिकेट बेस बढाउन अझै बढी प्रशिक्षण पोखरामै आयोजना गर्नुपर्छ ।’ खड्काले भने ।

त्रिविमा प्रशिक्षण गर्न चाहेको तर आईसिसिले उक्त मैदानलाई सिरिजका लागि मर्मत गर्नुपर्छ भनेर चिठि पठाएपछि सम्भव नभएको खड्का सुनाउँछन् । मर्मत भईरहेको र राम्रो पिच बन्ने आशा खड्काको रहेको छ । ‘पिच निर्माणको काम भइरहेको छ । राम्रो पिच बन्ने आशा लिएका छौँ ।’ खड्काले भने, ‘धेरै त्रिविमै खेलिरहेका छौँ, राम्रो क्रिकेट अवश्य खेल्ने छौँ ।’

नेपालसँग घरेलु भुमिको फाइदा रहेपनि सिरिजमा ओमान र अमेरिका निकै मजबुत प्रतिद्धन्दी भएको खड्काको बुझाइ छ । उनी भन्छन्, ‘ओमान र अमेरिका एकदिवसियमा कठिन प्रतिद्धन्दी हुन्, हामीले राम्रो क्रिकेट खेल्नुपर्छ ।’ कीर्तिपुरमा राष्ट्रिय क्रिकेट टिमका तर्फबाट खेल्नु उनको सबैभन्दा उत्कृष्ट अनुभव छ । अन्तराष्ट्रिय सिरिज नेपालमा धेरै पछि आयोजना हुनु पनि सुखदायी रहेको पारसले बताए ।

घरेलु लिगका रुपमा हाल नेपालमा तीन ठुला टी–ट्वान्टी फ्रेन्चाइज लिग नियमित आयोजना हुदै आएका छन् । एकदिवसिय लिग भने २ वटा मात्र छन्– प्रधानमन्त्री कप र एमएम कप ।

अहिले भईरहेका एकदिवसिय लिगमा अधिकांश टोली निर्धारित ओभरसम्म टिकेर खेल्न सकेका छैनन् । एकदिवसिय मान्यता पाएको २ वर्ष भइसक्दा नेपालले टेष्ट मान्यतालाई सपनाका रुपमा देखेको छ । नेपालको घरेलु लिगमा सबै टोली निर्धारित ओभरसम्म पुग्न नसक्नु र खेलाडीले पनि लामो पारी खेल्न नसक्नु आफैँमा लज्जास्पद रहेको छ ।

तर पारस भने केबल तथ्यांकले टोलीको मजबुती नदेखिने सुनाउँछन् । नेपालमा कम मात्रामा हुने एकदिवसिय प्रतियोगितामा पिचको अवस्थाले निकै प्रभाव पारेको उनको अनुभव छ । आयोजकले सिमित स्रोतको प्रयोग गरी प्रतियोगिता आयोजना गर्दा सबै टोलीले पुरा खेल खेल्न नसकेको उनी बताउँछन् । केबल तथ्यांकले सबै कुरा निर्धारित नहुने उनको बुझाइ छ । ‘केबल तथ्यांकले सबै कुरा देखाउँदैन, त्रिविको पनि तथ्यांक त्यति राम्रो छैन ।’ उनले भने, ‘तथ्यांकका आधारमा भन्दा टिम र खेलाडीको मजबुत पक्ष हेर्नुपर्छ ।’

अहिले नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा केही नयाँ अनुहार जस्तै लोकेश बम, सुमित महर्जनले आफुलाई अटाउन सफल भएका छन् । उनीहरु टोलीमा पर्छन् कि पर्दैनन् भन्ने कौतुहलता अहिले समर्थक माझ छ ।

पारस भने एक खेलले नै सबै कुरा निर्धारित नहुने बताउँछन् । ‘उनीहरु निरन्तर क्रिकेट खेलेर आज क्याम्पसम्म आइपुगेका छन् । राम्रो खेल्न सके उनीहरु पक्कै टोलीमा आउँछन् ।’ खड्काले भने, ‘कप्तान, कोच र क्यानले प्रदर्शनका आधारमा टोलीमा ल्याउनुहुन्छ होला ।’

कमेन्ट गर्नुहोस्
Share: