पोखरामा सवारी दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी अर्पण

Share:

पोखरा । पोखरामा मंगलबार राति सवारी दुर्घटनामा ज्यान गुमाएका २ प्रहरीलाई शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।

प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरीरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा गण्डकी प्रदेश प्रहरी प्रमुख तथा डिआइजी घनश्याम अर्यालको उपस्थितीमा शोक सलामी सहित श्रद्धान्जली अर्पण गरिएको हो ।
वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थारु र बगाले सवार मोटरसाइकललाई मंगलबार राति ड्युटीमा खटिएका बेला पोखरा– ५ मालेपाटनमा बोलेरो जिपले ठक्कर दिँदा निधन भएको थियो ।

मृतकको पार्थिव शरिरमा डिआइजी अर्यालले नेपाल प्रहरीको झन्डा ओढाएर पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । सोही क्रममा नेपाल प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

डिआइजी अर्यालले ईमान्दार र कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको बताए । उनले दुबै मृतक प्रहरी कर्मचारीका परिवारजनहरुसंग भेटघाट गरी समवेदना प्रकट गरेका थिए ।

संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसी, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यो पनि पढ्नुहोस्ः
पोखरामा ड्यूटिमा खटिएका प्रहरीलाई बोलेरो जिपले ठक्कर दिँदा एकको मृत्यु, एक गम्भीर घाइते
पोखरा सवारी दुर्घटनाः गम्भिर घाइते भएका प्रहरी हवल्दारको पनि मृत्यु

कमेन्ट गर्नुहोस्
Share: