
पोखरा । भगवान रामको पुजा आराधना गरि आज रामनवमी पर्व मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ ।
भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ ।
यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।
देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
यसैबीच, श्री रामनवमीका अवसरमा चितवनको माडीमा रहेको अयोध्यापुरीमा रामसिताको मूर्ति प्रतिस्थापन गरिँदै छ ।
प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई हिजो बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।
दिउँसो साढे १२ बजे मूर्ति प्रतिस्थापन साइत रहेको छ । गएको असारमा प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।
