गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या २० हजार नाघेको छ ।

गत २४ घण्टामा प्रदेशका १० वटा जिल्लाका ५७४ जनामा कोरोना देखिएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या २० हजार ४२७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

गत २४ घण्टामा सबैभन्दा धेरै कास्कीका मात्रै २९२ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये मादी गाउँपालिकाका १० जना, अन्नपूर्ण गाउँपालिकाका ७ जना तथा अन्य २७५ जना पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, गोरखाका ६० जना, बाग्लुङका ५३ जना, नवलपुरका ५२ जना, तनहुँका ४४ जना, म्याग्दीका २९ जना, स्याङ्जाका २७ जना, पर्वतका ८ जना, मनाङका ७ जना र लमजुङका २ जनामा पनि कोरोना संक्रमण भएको हो ।

यसैगरी, गत २४ घण्टामा थप ८७ जना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना निको हुनेको संख्या १७ हजार १५९ पुगेको छ ।

त्यसैगरी, आज बुधबार गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।

हाल प्रदेशभर ३ हजार ३१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेसनमा २ हजार ८०४ जना रहेका छन् ।

निर्देशनालयका अनुसार गत २४ घण्टामा गण्डकी प्रदेशभरका प्रयोगशालामा १२९० नमुना परिक्षण भएको छ भने हालसम्म १ लाख ४८ हजार ६१० नमुना परिक्षण भएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: