
कास्की : विभिन्न ११ देशका खेलाडीहरुको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस सम्पन्न भएको छ। जसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले हात पारेका छन् । उनले पाँच स्टेज (ट्रयाक) को ११.९२० किलोमिटरको दुरी नौ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे ।
विभिन्न सात विधामध्ये इलिट पुरुषतर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर पाएका छन् । यही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भएका छन् । किलिङले सोही दुरी १० मिनट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरे भने प्रचितले १० मिनट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गर्न सके। यससँगै किलिङले नगद ३० हजार रुपैयाँ सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
महिलातर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङ्गमा याङ्जी सेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले १० किलोमिटर पाँच सय मिटरको दुरी क्रमशः नौ मिनेट ५३ सेकेण्ड ४८ मिलिसेकेण्ड, ११ मिनेट २५ सेकेण्ड ३१ मिलिसेकेण्ड र १५ मिनेट ३५ सेकेण्ड ३६ मिलिसेकेण्डमा पार गरेका छन् । योसँगै उनीहरुले क्रमशः नगद ३५ हजार रुपैयाँ, २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर पाएका छन् ।
अर्को विधा १८ वर्षसम्मका पुरुष जुनियरतर्फ नेपालका बिपुल थापा प्रथम भएका छन् । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भएका छन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर पाएका छन् । त्यस्तै ३० देखि ३९ वर्ष समूहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो भएका छन् । तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर पाएका छन् ।
अर्को विधा ४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्की दोस्रो र नारायण मानन्धर तेस्रो भएका छन् । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर पाएका छन् । त्यस्तै ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधातर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन् । नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर पाएका छन् । नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भए भने विश्वास मोदी दोस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्म पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता सम्पन्न भएको हो । विगत चार वर्षदेखि आर्वामा तयारी गर्दै आएको थियो। उक्त स्थानमा प्रतियोगितालाई निरन्तरता दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले बताए । उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेका थिए ।
